देवघाट, जेठ ६
देवघाट गाउँपालिका–५ देवपुरमा रहेको बराह आधारभुत विद्यालयमा प्रावि तहको एक जना राहत शिक्षक छनौटकोलागि गाउँपालिकाले चलखेल गरेको भन्दै अन्य परिक्षार्थीहरुले विरोध गरेका छन् । सो क्रममा लिखित परिक्षाकोलागि तयार गरिएको प्रश्नपत्र समेत च्यातिएको छ । शनिबारकोलागि तोकिएको लिखित परिक्षा प्रश्नपत्र च्यातिएको र अधिकांश परिक्षार्थीको विरोधपछि स्थगित भएको छ ।




यस अघि सो विद्यालयमा कार्यरत राहत शिक्षकको शिक्षक सेवा आयोगमा नाम निस्किर अन्यत्र पदस्थापना भएपछि गत २०७९ चैत्र मसान्त बाट उक्त पद रिक्त भएको थियो । सो रिक्त भएको सो पदमा शिक्षक नियुक्तीको लागि गाउँपालिकाको शिक्षा शाखाको अनुमती पछि विद्यालयले गत बैशाख १७ गतेसम्मकोलागि निबेदन खुल्ला गरेको थियो । सो अवधिमा १७ जनाको लिखित आवेदन परेको विद्यालयका प्रअ सोमबहादुर थापाले जानकारी दिए ।

उक्त शिक्षक पदमा नियुक्तीको लागि शनिबार लिखित परिक्षा तोकिएको थियो । परिक्षा सन्चालनकोलागि गाउँपालिकाको शिक्षा शाखाले वडा नम्बर ५ को कालिका माविका शिक्षक युवराज साँखी र वडा नम्बर १ को पार्वती माविका शिक्षक टकबहादुर गुरुङलाई विषय विज्ञ नियुक्ती गरेको थियो । परिक्षाकोलागि सम्पुर्ण परिक्षार्थीलाई ११ बजे विद्यालयमा बोलाएर विषय विज्ञहरुले १२ः४५ बजेसम्म पनि प्रश्नपत्र तयार गरिरहेको एक परिक्षार्थीले बताए ।

परिक्षार्थीहरुले के कति कारणले परिक्षा ढिलाई भएको हो भनेर प्रअ थापालाई बुझ्दा प्रअले आफुले प्रश्नपत्र तयार गर्नकोलागि विद्या विकास पब्लिकेशन प्रालिद्वारा प्रकाशित शिक्षक सेवा आयोग आधारभुत तह प्राथमिक÷निम्न माध्यमिक प्रथम चरणको ७५ सेट प्रश्नोत्तर पुस्तक विषय विज्ञलाई शिलबन्दी गरि बुझाईएको तर विषय विज्ञले आफुहरुले नै ल्याएको अर्कै पब्लिकेशनको प्रश्नोत्तर सेटबाट प्रश्न तयार गर्न लाग्दा ढिलाई भएको जानकारी दिएको ति परिक्षार्थीले बताए । यसैविचमा एक समुह विद्यालय भित्र पसेर विषयविज्ञले तयार गरिरहेको प्रश्न च्यातेको प्रअ थापाले बताए ।
अर्का परिक्षार्थीले देवघाट गाउँपालिकाका शिक्षा तथा खेलकुँद शाखाका प्रमुख होमनाथ लामिछानेको श्रीमती पनि उक्त परिक्षाको परिक्षार्थी रहेको हुँदा उनको नाम निकाल्नको लागि चलखेल भएको आरोप लगाए । उनका अनुसार विषय विज्ञको रुपमा आएका युवराज साँखीले शिक्षा शाखा प्रमुखको मिलेमतोमा बिहान १० बज्नु भन्दा अगावै अक्षरान्क पब्लिकेशनको शिक्षक सेवा प्राथमिक तह सुमार्गदर्शन विषयगत नमुना प्रश्नोत्तर पुस्तक लुकाई छिपाई लगी सोही पुस्तकबाट जालझेल पुर्ण तरीकाले प्रथम चरणको वस्तुगत प्रश्न तयार गरेको आरोप लगाए ।

यसरी गाउँपालिकाकाको शिक्षा शाखाको प्रमुखको श्रीमतीको नाम निकाल्नकोलागि विषय विज्ञहरुले पहिले नै तयार गरेको प्रश्नपत्रबाट परिक्षा लिन खोज्दा अन्य परिक्षार्थीले अस्विकार गरेर परिक्षा रोकिएको एक प्रतक्ष्यदर्शीले बताए । परिक्षाको मर्यादा र विद्यालय व्यवस्थापन समितीले दिएको जिम्मेवारीलाई अवमूल्यन गरि कुनै एक व्यक्तिको नाम निकाल्ने उदेश्यले गरिएको षडयन्त्रमुलक कामको नैतिक रुपमा जिम्मेवारी गाउँपालिकाको शिक्षा शाखा प्रमुख र विषय विज्ञ युवराज साखीले लिनु पर्ने परिक्षार्थीहरुले बताएका छन् ।

विद्यालयका प्रअ थापाले आफुले शनिबार विहान पुस्तक पसलमा गएर प्रश्नसेटको पुस्तक खरिद गरेर ल्याई नियम बमोजिम प्रश्न बनाउन विषयविज्ञहरुले जिम्मेबारी दिएको तर विज्ञहरुले आफैले ल्याएको पुस्तकबाट प्रश्न निकाल्ने तयारी गरेको बताए ।
अव शनिबारको उक्त लिखित परिक्षा स्थगित भएपछि यसको सम्पुर्ण जानकारी गाउँपालिकाको शिक्षा शाखामा दिईने र शिक्षा शाखाले दिने निर्देशन अनुसार नै शिक्षक नियुक्तीको थप प्रक्रिया सुरु हुने प्रअ थापाले बताए ।












