भीम उपाध्यायलाई कारवाहीको माग गर्दै चितवनका गुरूङ समुदायले प्रजिअलाई ज्ञापनपत्र बुझाए

Devghat Online

शेयर गरौ

भरतपुर, भदौ ११

पूर्वसचिव भीम उपाध्यायलाई कारवाहीको दायरामा ल्याउन भन्दै चितवनका गुरूङ समुदायले प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको ध्यानाकर्षण गराएका छन् । भरतपुर–१६, शरणपुरकी पूर्णिमाया गुरूङलाई सामाजिक सञ्जालमार्फत ‘गोरू खाने धराने’ भनेर प्रचार गरेपछि पूर्णिमायाको व्यक्तिगत चरित्र हत्या भएको भन्दै चितवनबाट तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् र तमू प्ये ल्हु संघले संयुक्तरूपमा प्रमुख जिल्ला अधिकारी थापालाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका हुन् ।

ज्ञापनपत्रमा उक्त घटनामा दोषी भनिएका नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय र फेसबुकमा कैलाली ठेगाना भएका सन्तोष रिजाल भन्ने व्यक्तिलाई छिटोभन्दा छिटो नियन्त्रण गरी कानुनी उपचारमा ध्यान दिन आग्रह गरिएको छ । सत्यतथ्य नबुझी व्यक्तिगत मानहानि हुने गरी सामाजिक सञ्जालबाट दुष्प्रचार गरेको हुँदा कानुनमा उल्लेख भएको बुँदाअनुसार हदैसम्मको कारवाही गर्न पूर्णिमायाले माग गरेकी छन् ।

चितवन प्रहरीमा उपाध्याय र रिजालविरूद्ध गत बिहीबार नै उजुरी परिसकेको छ । तर, यतिका समयसम्म पनि प्रहरीले नियन्त्रणमा नलिएपछि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको तमू ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले बताइन् ।

धरानमा गोरु खाएको विषयले सामाजिक सञ्जाल तताएपछि साढे दुई वर्षअघि पूर्णिमायाले टिकटकमा राखेको भिडियोलाई फोटो बनाएर सन्तोष रिजाल र भीम उपाध्यायले सामाजिक सञ्जालको दुरूपयोग गरेर निर्दोष व्यक्तिको चरित्र हत्या गरेको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष लालप्रसाद गुरूङले बताए ।

भीम उपाध्यायले सामाजिक सञ्जालमा राखेको हप्ता दिनसम्म त्यो तस्बिरको वास्तविकता धरानको गोरुसँग जोडिएको विषय होइन भनेर पटकपटक आग्रह गर्दा पनि फेसबुकबाट उक्त पोष्ट नहटाएपछि बाध्य भएर प्रहरीमा जानु परेको पीडित पूर्णिमायाले बताएकी छन् ।

प्रहरीमा उजुरी दिएर चितवनका सञ्चारमाध्यममार्फत वास्तविकता बताएपछि भीम उपाध्यायले आफूलाई उक्त भिडियो हटाउन दबाब दिएको उनले बताइन् । सामाजिक सञ्जालको दुरूपयोग गरेको आरोप लागेका भीम उपाध्यायले त्यसपछि बल्ल उक्त पोष्ट हटाएका छन् । र, दुईबीच कुरा मिलिसकेकोले कुनै प्रकारको विवाद नरहेको दाबी गरिरहेका छन् ।

तर, पूर्णिमायाले भने आफ्नो व्यक्तिगत चरित्रमाथि दाग लागिसकेको हुँदा कानुनी उपचारबाट पछि नहट्ने अडान लिँदै आएकी छन् । ‘नहुनु व्यइजत भइसक्यो, अब मेरो इज्जत फर्काउन सक्छ र,’ उनले भीम उपाध्यायलाई प्रश्न गरेकी छन्, ‘त्यसैले मलाई माफी माग्दैमा माफी पाइन्छ भन्ने गलत भ्रम नछरे हुन्छ । म कानुनी उपचारमा गइसकेँ । र, मैले माफी दिएकी पनि छैन ।’

ज्ञापनपत्र बुझाउनुपूर्व केन्द्रीय बस टर्मिनल अगाडिको चौरमा भेला भएका चितवनका गुरूङहरूले विरोध र्‍यालीको ब्यानरसहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । कार्यक्रममा तमू ह्युल छोँज धीँ र तमू प्ये ल्हु संघको इकाइदेखि जिल्ला हुँदै केन्द्रसम्मका पदाधिकारी एवम् प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय