काठमाडौं, फागुन १
राष्ट्रपति रामचन्द्र पौडेलले समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनुपर्ने बताएका छन् । ‘समाजलाई सभ्य सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनै पर्छ’, राष्ट्रपति पौडेलले भने ।



चितवन स्थित देवघाटधाममा सन्चालित गार्गी कन्या गुरुकुलद्वारा काठमाडौंमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको मंगलबार उद्घाटन गर्दै राष्ट्रपपती पौडेलले देशमा रहेका गुरुकुलमा कन्याहरूलाई यथोचितरुपमा वैदिक शिक्षा दिने व्यवस्था हुन नसकेको अवस्थामा यसले कन्याहरूलाई गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष हो भन्दै यस गुरुकुलका लागि राज्यले पनि विशेष ध्यान दिनेनैछ भन्ने विश्वास लिएको बताए ।
राष्ट्रपती पौडेलले ऋषिमुनि र तपस्वीहरूको आदर्शको अनुसरण गर्दै देवघाटधाममा सन्त महात्माहरूले आश्रम र गुरुकुल चलाएर यहाँको महत्वलाई बढाउनु प्रशंसनीय कार्य भएको बताए । ‘गुरुकुल यौटा वैज्ञानिक र व्यवहारमुखी शिक्षा पद्धति हो’ राष्ट्रपती पौडेलले भने ‘यसबाट शिक्षित जनशक्तिले आफ्नै माटोको मौलिक संस्कार, संस्कृति, सहअस्तित्व र स्वाभिमानको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने मलाई लागेको छ ।’

विश्वको सबैभन्दा प्राचीन ग्रन्थ वेद भएको र आध्यात्मिक ज्ञान, विज्ञानको मूल पनि वेदलाई मानिएको बताउँंदै त्यस्तो अगाध ज्ञानको स्रोत भएको वेदको र वैदिक सनातन संस्कृतिको उद्गमभूमि नेपाल भएको र नेपाल देवभूमि र अध्यात्म साधनाभूमिको रूपमा चिनिने गरिएको राष्ट्रपती पौडेलले बताए । राष्ट्रपती पौडेलले परापूर्वकालमा यहाँका विभिन्न पावन तीर्थमा रहेर वसिष्ठ, विश्वामित्र, याज्ञवल्क्य, अष्टावक्र र गार्गीजस्ता ऋषिमुनिहरूले कठोर साधना गरेको तथा आफ्नो तपस्याको बलमा अलौकिक शक्ति आर्जन गरेको उल्लेख गर्दै उनीहरूले तपस्याद्वारा प्राप्त गरेको वैदिक र आध्यात्मिक ज्ञानले समाजलाई आलोकित बनाएको कुरा विभिन्न ग्रन्थहरूमा पाइएको पनि बताएका थिए ।
राष्ट्रपति पौडेलले देशकै पहिलो कन्या गुरुकुलको रूपमा गार्गी कन्या गुरुकुल सञ्चालन हुनु खुशीको विषय भएको बताउँंदै वैदिक कालमा गार्गी मदालसा, घोषा अपालाजस्ता विदुषीहरूले ज्ञानको ज्योति छरेर समाजलाई मार्गदर्शन गरेको उल्लेख गरे ।
दाताहरुको सहयोगबाट गुरुकुल सञ्चालनमा रहेतापनि दीगो आर्थिक स्रोतका जुटाउन अक्षयकोष स्थापनाको लागि महायज्ञको आयोजना गरिएको गुरुकुलका संरक्षक डा.गुरु प्रसाद सुवेदीले बताए । उनले भने, ‘संस्कृत भाषा संरक्षण गर्नु हामी सबैको कर्तव्य हो, अहिले आर्थिक स्रोत बलियो नहुँदा गुरुकुल चलाउन गाह्रो भइरहेको छ । अक्षकोष स्थापनाको लागि हामीले महायज्ञको आयोजना गरिएको हो ।’
नौ दिन सम्म चल्ने महायज्ञमा करिब ३ करोड अक्षककोषमा संकलन हुने अपेक्षा गरिएको छ । निशुल्क आवासिय सुविधासहित ८० कन्या अध्ययनरत गार्गी कन्या गुरुकुलले शैक्षिक ब्यवस्थापनमा समस्यामा रहेको भन्दै महायज्ञको आयोजना गरेको हो । महायज्ञको प्रमुख बाचकको रुपमा प्रखर भागवत बाचक पण्डित कुबेर सुवेदी रहेका छन् । साथै गुरुकुलका बालिकाहरुको शात्रिय प्रवचन, नृत्य, गायन, बाद्यवाधनको प्रस्तुती रहनेछ ।

काठमाडौं वनकाली स्थित सुमार्गी भवनमा सुरु भएको महायज्ञमा सहयोगको लागि आयोजकले सबैसँग अपिल समेत गरेको छ । नेपालकै प्रसिद्ध विदूषी स्वर्गीय अंगुरबाबा जोशीको विशेष सदिच्छा अनुसार काठमाडौंमा २०६७ सालदेखि ग्रागी कन्या गुरुकुलको स्थापना गरिएको हो । २०७५ देखि भरतपुर–देवघाटधाम चितवनमा सञ्चालित राम जानकी कन्या गुरुकुल समायोजन गरी हाल सञ्चालनमा रहेको छ ।
नारीहरुलाई संस्कार सहितको बैदिक शिक्षा प्रदान गरि सच्चरित्रवती बिदुषी नारीशक्तिको उत्पादन गर्ने उद्देश्यका साथ देवघाटमा उक्त गार्गी कन्या गुरुकुल सन्चालन भईरहेको छ । नेपालको पहिलो र समावेशी गुरुकुलको रुपमा रहेको यस गुरुकुलमा सरकारी निकायबाट स्विकृती प्राप्त गरि हालसम्म माध्यमिक तहको औपचारिक कक्षा सन्चालन भईरहेको छ ।












