गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा सर्वोच्चले साउन १३ गते फैसला सुनाउने

Devghat Online

शेयर गरौ

दमौली, जेठ २०

पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा सर्वोच्चले साउन १३ गते फैसला सुनाउने भएको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार बहस सकिएपछि साउन १३ गते निर्णय सुनाउने दिन तोकेको हो ।

यस्तै, इजलासले असार २१ गतेसम्ममा बहस नोट माग गरेको छ । नेपाली कांग्रेसबाट पटकपटक मन्त्री भइसकेका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा विनोद शर्मा र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ चलेको थियो ।

उक्त इजलासले ‘हेर्दाहेर्दै’ मा राखेर सोमबार चौथो दिन सुनुवाइ गरेको हो । जेठ १ गते खोलिएको फाइलमा ८ गते र १३ गते पनि यही इजलासमा सुनुवाइ भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेसका तत्कालीन प्रभावशाली नेता जोशीलगायत उनका परिवारका सदस्यविरुद्ध भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा २०६० पुस १८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सुरुमा जोशीलाई विशेष अदालतले हदम्याद कटाएर ढिलो गरी मुद्दा दायर गरेको भन्दै सफाइ दिएको थियो। मुद्दाको तथ्यमै प्रवेश नगरी प्राविधिक आधारमा सफाइ दिने विशेषको फैसला नमिलेको भन्दै सर्वोच्च अदालतले पुनः हेर्न फाइल फर्काइदिएको थियो ।

त्यसपछि विशेष अदालतले मुद्दाको तथ्यभित्र प्रवेश गरी सुनुवाइ गर्दा उनलाई भ्रष्टाचारी ठहर गरेको थियो । उनले २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ भ्रष्टाचार गरी कमाएको ठहर गरी डेढ वर्ष कैद सजाय हुने फैसला विशेषबाट भएको थियो ।

विशेषको फैसलाविरुद्धको मुद्दा २०६९ फागुन ६ मा सर्वोच्च पुगेको थियो । जोशी र अख्तियार दुवै पक्षले सर्वोच्चमा पुनरावेदन गरेका छन् । विशेषले तोकेको सजाय अपुग रहेको भन्दै अख्तियारले बढी सजाय माग गरेको छ भने जोशीले सफाइ पाउनुपर्ने जिकिर गरेका छन् ।

जोशीका कानुन व्यवसायीले अख्तियारले अनुसन्धान अधिकृत तोकेको पत्र नपठाएसम्म सुनुवाइ अगाडि बढ्न नसक्ने अडान लिएका कारण पनि लामो समयदेखि यो मुद्दा सर्वोच्चमा अड्किएको थियो। सर्वोच्चका केही कर्मचारीले उनको मुद्दाको अभिलेख अनलाइन प्रणालीबाटै डिलिट गरेर समेत मुद्दा लम्ब्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो