दमौली, जेठ २५
गत जेठ २१ गते सोमबार ट्यांकरको ठक्करबाट मृत्यु भएका व्यास नपा–१२ घर भएका व्यास नगरपालिकामा कार्यरत ईन्जिनियर २९ बर्षिय प्रविण कैनीको शुक्रबार विहान दमौली घाटमा दाहासंस्कार गरिएको छ । शवको बुधबार दमौली अस्तपालमा पोष्टमार्टम गरिएको थियो ।
अन्तिम संस्कारको क्रममा मृतकका परिवारजन, आफन्त, व्यास नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, व्यापारी तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।




पार्थिव शरिरमा राष्ट्रिय सभाका सदस्य पदम परियार, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले लगायत जनप्रतिनिधि र राजनीतिक दलका नेता तथा नगरपालिकाका कर्मचारीहरुले श्रद्धान्जली अर्पण गरेका थिए ।

सोमबार दिउँसो २ बजे व्यास नगरपालिका वडा नम्बर १ मुसेखोला स्थित पृथ्वीराजमार्गमा पानी हालेर दमौली तर्फ फर्कदै गरेको बा.प्र.०१–००१ अ.य.००३९ नम्बरको पानी ट्याङकरले सोही दिशा तर्फ आउदै गरेको ग १९ प ८३०३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक कैनीको घटनास्थलमै मृत्यु भएको थियो ।

पृथ्विराजमार्ग निर्माणको ठेक्का पाएको चाईजिन कम्पनी चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीको ट्यांकरले चरम लापरवाहीपुर्वक मोटरसाईकललाई ठक्कर दिई हत्या गरेको भन्दै पीडित परिवारले तिनदिनसम्म आन्दोलन गरेका थिए । उनीहरुले पृथ्वीराजमार्ग अवरुद्ध समेत गरेका थिए । पीडित परिवारलाई राहत दिने विषयमा जिल्ला प्रशासन कार्यालयमा चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीका प्रतिनिधि र पीडित पक्ष विच पटक पटक भएको छलफलमा चाइनिज कम्पनीले पीडित परिवारलाई विमाको रकम सहित ३० लाख राहात उपलब्ध गराउने र मृतक कैनीको घरको एक जनालाई उक्त सडक आयोजनामा रोजगारी दिने र चालकलाई हदैसम्मको कानुनी कारबाही गर्ने सहमती भएको थियो ।

उक्त सहमती पछि मृतकको परिवारले विहिबार साँझ शव बुझेका थिए । ट्यांकर चालक प्रहरी नियन्त्रणमा रहेको र उनलाई कानुनी कारवाहीको प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैविच व्यास नगरपालिकाका इन्जिनियर कैनीको मृत्यु भएकोमा व्यास नगरपालिकाले शुक्रबार सार्वजानिक बिदा दिएको छ ।

नगरपालिकामा शुक्रबार विहान शोक सभाको आयोजना गरि त्यसपश्चात नगरपालिका अन्तर्गतका सम्पुर्ण कार्यालयहरुमा (आकस्मिक बाहेक) बिदा दिईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिराम गैह्रेले जानकारी दिए ।












