देवघाट महा–महोत्सवको १७ औं दिनः नेपाल हिन्दू राष्ट्र हुनुपर्छ –काँग्रेस नेता डा.कोइराला

Devghat Online

शेयर गरौ

देवघाट, माघ १७

देवघाटमा जारी महा–महोत्सवमा विहिबार सत्रौं दिन नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य डा. सशांक कोइरालाको उपस्थिती रहेको थियो । महा–महोत्सवलाई सम्बोधन गर्दै डा.कोईरालाले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने भन्दै गण्डकी सभ्यता र धार्मिक धरोहरको संरक्षणका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

महा–महोत्सवमा सहभागी हुन पाउँदा आफू निकै खुशी भएको बताउँदै, उनले आफ्नो परिवारको धार्मिक आस्थालाई स्मरण गर्दै भने ‘मेरो बाजे कृष्णप्रसाद कोइरालाले विराटनगरमा घरभन्दा पहिले मन्दिर बनाउनु भएको थियो, मेरी आमा ७० वर्षको उमेरसम्म भगवानको भजनमा नाच्नुहुन्थ्यो ।’ नवलपुर क्षेत्र नम्बर १ का सांसद समेत रहेका डा.कोइरालाले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने आफ्नो पुरानै धारणा दोहोर्याउँदै भने ‘नेपालमा ८० प्रतिशतभन्दा बढी हिन्दू छन्,यो मुलुक हिन्दू राष्ट्र नै हुनुपर्छ । धर्म सापेक्ष पनि होइन, निरपेक्ष पनि होइन, धर्म स्वतन्त्र हुनुपर्छ । म हिन्दू राष्ट्र स्थापनाका लागि सधैं वकालत गर्छु’ उनले वर्तमान संविधानले हिन्दू धर्मावलम्बीको आस्थामाथि चोट पु¥याएको भन्दै, हिन्दू राष्ट्र पुनःस्थापना गर्नु नै नेपाल र नेपालीको हितमा रहेको बताए ।

सम्बोधनको क्रममा डा. कोइरालाले नेपालमा बढ्दो भ्रष्टाचारलाई मानव प्रवृत्तिसँग जोड्दै, पैसाको पछि मात्रै लाग्दा समाजमा नैतिकता हराउँदै गएको बताए । ‘मानव मस्तिष्कमा दश लाख कोष हुन्छ, तर हामी जम्मा तीन प्रतिशत मात्र प्रयोग गर्छौं’ उनले भने ‘हाम्रो दिमाग प्रयोग गर्नुभन्दा पैसा कमाउने ध्येयमा सीमित हुँदा भ्रष्टाचार मौलाएको छ ।’ उनले धर्म र नैतिक शिक्षाको अभावले समाजमा विकृति बढेको तर्क गर्दै, धार्मिक आस्था बलियो बनाउनुपर्नेमा जोड दिए ।

देवघाट महा–महोत्सवका सत्संकल्पकर्ता इश्वरकृष्ण महाराजले हिन्दु राष्ट्र स्थापनाका लागि डा. सशांक कोइरालालाई पहल गर्न अनुरोध गरे । उनले भने ‘हामी कुनै दलको विरोधी होइनौं, तर जुन दलले हिन्दू राष्ट्रको मुद्दा उठाउँछ, हामी त्यही दललाई समर्थन गर्नेछौं ।’ उनले देवघाट महामहोत्सव जस्तै धार्मिक महोत्सवहरूले समाजमा आस्थाको पुनर्जागरण मात्र नभई, आर्थिक र सामाजिक रूपमा समेत योगदान दिन सक्ने बताए ।

इश्वरकृष्ण महाराजले कालीगण्डकी डाइभर्सन परियोजना को प्रसङ्ग निकाल्दै यो परियोजना कुनै विकास योजना नभई, हिन्दू धर्म, संस्कार, संस्कृति, र गण्डकी सभ्यता नै नष्ट गर्ने षड्यन्त्र भएको आरोप लगाए । उनले भने, ‘गण्डकी कुनै साधारण नदी होइन, यो हाम्रो आस्था, सभ्यता, धर्म र संस्कृतिको आधार हो, गण्डकी बचाउन परे म आफ्नो प्राण दिन तयार छु’ उनले गण्डकी डाइभर्सन परियोजना नेपालको लागि भन्दा बाह्य शक्तिहरूको इसारामा ल्याइएको भन्दै कडा आपत्ति जनाए ।

‘तिनाउमा गण्डकी मिसाउने योजना नेपालको हितमा छैन, यो विधर्मीहरूको षड्यन्त्र हो, सरकार गम्भीर भएन भने हिन्दूहरूको शक्ति देख्नेछन ।’ इश्वरकृष्ण महाराजले हिन्दू धर्म र नेपाली सभ्यताको रक्षाका लागि सम्पूर्ण धार्मिक, सामाजिक, र राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताए । उनले चेतावनी दिँदै भने, ‘हिन्दू राष्ट्र र गण्डकी सभ्यता बचाउने विषयलाई हलुका रूपमा लिइयो भने, अब सबै राजनीतिक दल समाप्त हुनेछन् ।’ उनले गण्डकी सभ्यताको रक्षा र हिन्दू राष्ट्र स्थापनाका लागि डा. सशांक कोइरालासँग ठोस पहल गर्न अनुरोध गर्दै, हिन्दू धर्मावलम्बीहरूलाई सचेत बन्न आह्वान गरे ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय