तनहुँ । असोज २७
आगामी कार्तिक ८ गतेदेखि १५ गतेसम्म तनहुँको आँबुखैरेनी गाउँपालिका–३ अमिलिबोटेस्थित आँबुखैरेनी हाटबजारमा आयोजना हुने छिम्केश्वरी बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको तयारी बैठक सम्पन्न भएको छ ।



महायज्ञ मूल समारोह समितिका संयोजक कृष्णमान तामाङको अध्यक्षता र गाउँपालिका अध्यक्ष शुक्र चुमानको विशेष उपस्थितिमा सोमबार सम्पन्न बैठकमा विभिन्न समिति–उपसमिति, समाजसेवी, धार्मिक अगुवा र स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
बैठकमा महायज्ञ सफल बनाउन व्यवस्थापन, आर्थिक संकलन, यज्ञस्थल सरसफाइ, आवास तथा भोजन, सुरक्षा व्यवस्था लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो । साथै, स्वेच्छिक सहयोग र श्रमदानसम्बन्धी योजना पनि प्रस्तुत गरिएको छ ।
महायज्ञको प्रमुख कथा वाचक पण्डित दीनबन्धु पोखरेल रहनेछन् । महायज्ञ अवधिभर विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन् । तीमध्ये कलश यात्रा, श्रीमद्भागवत पाठ, पुलपाठ, १०८ सालीग्राम परिक्रमा, झाँकी प्रदर्शनी, आरती–पुष्पाञ्जली, र टिका–प्रसाद वितरण रहेका छन् ।
त्यस्तै, महायज्ञको अवसरमा इच्छुक दाताहरूले पितृ उद्धारार्थ वैदिक कर्म, तुलादान, धान्याञ्चल, ग्रहशान्ति पूजन गराउन सक्नेछन् । सहयोग स्वरूप तामा, पित्तल, चरेस, ढलोट, धान, चामल, पिठो, घ्यू तथा अन्य खाद्यान्न सामग्री दान गर्न सकिने व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।
महाभारत पर्वत श्रृंखलाको २१३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी (बुढीदेवी) मन्दिर क्षेत्रको विकास र संरक्षणलाई दृष्टिगत गरी आयोजना हुन लागेको यो महायज्ञ छिम्केश्वरी पर्यटन विकास समिति, छिम्केश्वरी मन्दिर संरक्षण समिति र महायज्ञ मूल समारोह समितिको संयुक्त आयोजनामा हुन लागेको हो । आयोजक समितिले करिब १० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य राखेको छ ।












