तनहुँ । असोज २९
जिल्ला प्रशासनमा कार्यालयमा सेवाग्राहीको भिड बढेपछि उक्त कार्यालयको सेवा विहान ८ बजेदेखी सुरु गरिएको छ । कार्यालयमा दैनिक सेवाग्राहीको भिड बढेपछि सेवा विहान ८ बजेदेखी साँझ ६ बजेसम्म सन्चालन गरिएको छ ।



जेन जी आन्दोलनपछि भदौ २४ गतेबाट बन्द रहेको राष्ट्रिय परिचय पत्रको सेवा गत आइतबारबाट सुरु गरिएको थियो । राष्ट्रिय परिचयपत्रको सेवा सुरु गरिएपछि सेवाग्राहीको भिड बढेको थियो । विहान ६ बजेनै सेवाग्राहीको भिड बढ्न थालेको र सेवाग्राही लामो लाइनमा बस्न बाध्य भएपछि सेवा उपलब्ध गराउने समय बढाईएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीले बताए ।
जेन जी आन्दोलनको क्रममा भदौ २४ गते केही अराजक व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालयमा आगजनी गरेका थिए । आगजनीबाट प्रशासन कार्यालय पुर्ण रुपमा क्षती भएको थियो ।
कार्यालय क्षतीभएपछि उक्त कार्यालयबाट प्रदान गरिँदै आएको नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी सेवा बन्द गरिएकोमा नागरिकताको सेवा केही दिन पछि नै सुरु गरिएको थियो भने राष्ट्रिय परिचयपत्रको सेवा गत असोज २६ गतेदेखी सन्चालन गरिएको थियो । नागरिकताको विवरण संकलन सम्बन्धी सेवा भने अझै पनि सुरु भएको छैन ।












