थानीमाई मन्दिरमा मंगलबार एकै दिन ८६ वटा डोली भित्रियो

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक ११

भानु नगरपालिका–७ बसन्तपुरमा रहेको प्रसिद्ध थानीमाई मन्दिरमा कात्तिकको दोस्रो साताको मंगलबार ८६ वटा डोली भित्रिएका छन् । तनहुँबाट ३५ डोली, लमजुङबाट २५, गोर्खाबाट १२, चितवनबाट ८, कास्कीबाट ४, काठमाडौ र नवलपरासीबाट १/१ डोली भित्रिएको र डोली सँगै करिब ९ हजार भक्तजनले मन्दिरको दर्शन गर्नु भएको मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए ।

सोमबार राती ७२१ जना भक्तजनले मन्दिर परिशरमा बत्ति बालेका थिए । सोमबार दिनैभर झरी परेको र सडकको अवस्था बिग्रिएको कारण भक्तजनहरुले सास्ति बेहोर्न परेको थियो ।

वसन्तपुरस्थित धार्मिकस्थल थानीमाई मन्दिरमा पछिल्लो समय भक्तजनको आर्कषण बढ्दै गएको छ । उक्त मन्दिरमा तनहुँ, लमजुङ, गोरखा, कास्की, चितवन, काठमाडौँ लगायतका जिल्लाबाट भक्तजन पूजाअर्चना र फूलको डोली भित्र्याउन भीड नै लाग्ने गरेको छ । कोही भाकल गर्न र कोही भाकल बुझाउन मन्दिर आउने गरेको थानीमाई मन्दिर संरक्षण समितिका अध्यक्ष थापामगरले जानकारी दिए ।

उनले भने, ‘साउन महिनाबाहेक प्रत्येक महिनाको मङ्गलबार विशेष पूजाआजा हुने यस मन्दिरमा पछिल्लो समय भक्तजनको भीड लाग्ने गरेको छ ।’ अध्यक्ष थापामगरका अनुसार विशेष गरी सोमबार सत्यनारायण पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । थानीमाई मन्दिरमा कात्तिक महिनादेखि माघ महिनासम्म भक्तजनको भीड नै लाग्ने गर्दछ । उक्त मन्दिरमा साउन महिना, एकादशी र औँशीबाहेक अन्य समयमा पूजाअर्चना निरन्तर हुने गर्छ ।

भक्तजन फूलको डोली र पञ्चेबाजासहित थानीमाई मन्दिरमा तीन पटक नाचगान गर्दै परिक्रम गर्छन् । परिक्रमपश्चात् माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलमा डोलीसँगै लगिएका तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजाअर्चना गर्ने गरिन्छ ।

झण्डै चार सताब्दी अघि भानु नगरपालिका–७ स्थित कोटथोकमा भोटिनी आमाछोरी हावाहुरी चलेपछि हाल मन्दिर रहेको स्थानमा ओत लाग्दा अन्र्तध्यान भएको जानकार बताउँछन् । स्थानीय मानसिं पाटा मगरको सपनामा उक्त स्थानमा मन्दिर बनाएर पूजा गर्नुपर्ने सुझाव पाएर मन्दिर स्थापना गरेपछि समस्या समाधान भएको किंवदन्ती रहेको पाइन्छ ।

समुद्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा रहेको यस मन्दिरबाट छिमेकी जिल्ला गोरखा, लमजुङलगायतका विभिन्न जिल्लाका मनोरम र हिमशृङ्खला दृश्य अवलोकनसमेत गर्न सकिन्छ । वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको यस मन्दिरको पुनःनिर्माण गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलालयबाट चौध लाख र मन्दिरको भेटीबाट छ लाख गरी बीस लाखको लागतमा मन्दिर पुनःनिर्माण गरिएको हो ।

विसं १८२५ देखि उक्त मन्दिरमा पूजाअर्चन सुरुआत भएको बताइएको छ । उक्त मन्दिर जिल्लाको डुम्रे बजार स्थित पृथ्वीराजमार्गबाट करिब १८ किलोमिटर दूरीमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र