काठमाडौं । कार्तिक १२
सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलका अनुसार, माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय भएको जानकारी गराए ।



बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । २०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ । १९ जना मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा पद रिक्त हुनु भन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । २० फागुनमा राष्ट्रिय सभा सदस्यको पदावधि सकिन्छ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।
आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुने सांसदहरूमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन् । आगामी फागुनमा बिदा हुने एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन् ।
बिदा हुने माओवादी सांसदहरूको संख्या ७ छ । जसमा गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् । एकीकृत समाजवदीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि आगामी फागुनमा सकिनेछ ।












