तनहुँ । कार्तिक १४
छिम्केश्वरी–बुढीदेवी माई मन्दिर क्षेत्रको बृहत्तर विकासका लागि आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा आबुखैरेनी गाउँपालिका कार्यालय र गाउँपालिका मातहतका कार्यालयहरु आबुखैरेनी अस्पताल तथा सम्पुर्ण वडाका स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुले एकमुष्ठ पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ दान गरेका छन् ।



महायज्ञमा शुक्रबार कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले एकमुष्ठ रुपमा उक्त रकम सहयोग गरेका हुन् । कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको सहयोगले मन्दिरको विकासमा काम गर्ने प्रेरणा मिलेको महायज्ञका संयोजक तथा छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङले बताए ।
आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी र बुढीदेवीमाई मन्दिरको बृहत विकास र संरक्षण एवं धार्मिक पर्यटन प्रवद्र्धनका लागि सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा हालसम्म करिब एक करोड बढि दान संकलन भईसकेको छ । आँबुखैरेनी–३ हाटबजार क्षेत्रमा जारी महायज्ञको पाँचौँ दिनसम्म उक्त रकम संकलन भएको महायज्ञ मूल समारोह समितिका संयोजक तामाङले जानकारी दिए । महायज्ञ अवधिभर १० करोड संकलन गर्ने लक्ष्य राखिएको छ ।
महायज्ञ कात्तिक १५ गतेसम्म सञ्चालन हुँदैछ । संकलित रकम मन्दिर क्षेत्रका स्थायी संरचना, ध्यान केन्द्र, सभाहल, विश्रामगृह, शौचालय, सरसफाइ पूर्वाधार, बाटो र पार्किङ निर्माणमा खर्च गरिने बताइएको छ । त्यसका साथै, समितिले फूल तालिम केन्द्र स्थापना, भक्तजनको आवागमन सहज बनाउने, सरसफाइ सुदृढीकरण र धार्मिक पर्यटन प्रवद्र्धनलाई प्राथमिक कार्ययोजनाका रूपमा अघि सारेको छ ।
आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले छिम्केश्वरी क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न स्थानीय सरकार सक्रिय बन्दै आएको बताए । उनले मन्दिर क्षेत्रको दीर्घकालीन विकासका लागि निरन्तर योजना र आर्थिक संकलन आवश्यक रहेको बताए ।
महाभारत पर्वत श्रृङ्खलाको २१३४ मिटर उचाइमा अवस्थित मन्दिर क्षेत्रको समग्र विकासका लागि आयोजित उक्त महायज्ञमा वाचन प्रविण पण्डित श्री दिनबन्धु पोखरेलले श्रीमद्भागवत वाचन गरेका छन् । महायज्ञ अवधिभर पितृ उद्धार, वैदिक कर्म, धान्याञ्चल, तुलादान, विवाह–ब्रतबन्ध, ग्रहशान्ति पूजन लगायतका धार्मिक कार्यहरू सम्पन्न हुनेछन् ।
त्यस्तै तामा, पित्तल, ढोलक, अन्न, खाद्यान्न तथा अन्य धार्मिक सामग्रीको दान पनि स्वीकार गरिनेछ । आयोजकहरुले यस महायज्ञले छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
धार्मिक विश्वास अनुसार गोरखाको मनकामनामाईकी दिदीका रूपमा पूजिँदै आएकी छिम्केश्वरी र बुढीमाईको दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ । समुद्र सतहदेखि २,१३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध, सैपाल र अपि हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।












