देवघाट । कार्तिक १४
देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पुनः डिल्लीराम गिरी चयन भएका छन् । वन समुहको शुक्रबार सम्पन्न २८ औं साधारण सभा तथा १३ औं अधिवेशनबाट गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन भएको छ । समुहको उपाध्यक्षमा कमला देवकोटा, सचिवमा गोपी अछामी मगर र कोषाध्यक्षमा निर्मला मगर चयन भएका छन् ।



उक्त साधारणसभाको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष थापाले पछिल्लो समय सामुदायिक वनहरुले प्रतक्ष्य जनताहरुको जनजिवनसँग जोडिने कार्यहरु गर्दै आएको बताए । यसरि नै हरेक सामुदायिक वनले उपभोक्ताको आर्थिक तथा सामाजिक पक्षसँग जोडिने क्रियाकलापहरु गर्दै जान पर्ने अध्यक्ष थापाले बताए । हरेक सामुदायिक वनले खाली रहेको जग्गामा फलफुलहरु जटिवुटी जस्ता विरुवाहरु रोपी आयस्रोत बनाउन पर्ने अध्यक्ष थापाले बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले मधुवन सामुदायिक वन नेपालकै उत्कृष्ट वन हुनुमा सबैको मेहेनत भएको र सबैले जस लिन मिल्ने बताए । पछिल्लो समय सामुदायिक वनहरु प्रति मुद्धा पर्दै गरेको र ती समस्याहरुसँग सधै वन महासंघ ढाल बनेर उभिदै सामुदायिक वनको हक अधिकारको सरंक्षण गर्दै आएको न्यौपानेले बताए ।
देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्ण वहादुर कुँवरले मधुवन सामुदायिक वन नेपालका २३ हजार वन समुहहरु मध्ये दोश्रो भएको हुदा वडा मात्र नभई सिङ्गो देवघाटको नाम मधुवनले राखेको कुवरले बताए । सव डिभिजन वन कार्यालय देवघाटका वन प्राविधिक लोकराज उपाध्यायले मधुवन सामुदायिक वनले पछिल्लो समयमा धेरै काम गर्दै आएको हुँदा गणेशमान सिह सामुदायिक वन राष्ट्रिय पुरस्कार पाउन सफल भएको बताए ।

कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले मधु वन सामुदायिक वनले धेरै राम्रो काम गर्दै आएको भन्दै मधुवन सामुदायिक वनले उपभोक्ताहरुको प्रतक्ष्य लाभ देखिने गरि काम गर्दै आएको बताए । सहि व्यक्ति सहि ठाउँमा हुदा संस्थाले धेरै उदाहरणीय काम गर्दै जाने त्यस्को उदाहरण मधुुवन रहेको श्रेष्ठले बताए ।
वन समुहका अध्यक्ष डिल्लीराम गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा एमाले वडा ५ कमिटिका अध्यक्ष विकास ढकाल, कालिका सामुदायिक वन समुहका अध्यक्ष अमर फेवाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रमको सन्चालन सचिव धन बहादुर थापाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष कमला देवकोटाले राखेकी थिइन् ।
मधुवन सामुदायिक वन समुहले यस वर्षको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो ।












