तनहुँ । माघ १२
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भईसकेको छ । उम्मेदवारहरु आफुलाई जिताउन मतदाताको घरदैलोमा जान थालिसकेका छन् । निर्वाचन अयोगले आगामी फागुन ३ गतेबाट मात्र प्रचार प्रसार गर्न पाइने कार्यतालिका बनाएपनि उम्मेदवाहरु विभिन्न कार्यक्रम मार्फत मतदाताकहाँ जान थालिसकेका छन् ।



यसैक्रममा तनहुँका दुबै क्षेत्रका उम्मेदवाहरुले आफ्नो चुनावी अभियान सुरु गरिसकेका छन् । स्वयं आफुलाई मतदान गर्न नपाउने उम्मेदवारहरुलेपनि आफुलाई मत दिन अन्य मतदाताहरुलाई प्रभावमा पार्न थालेका छन् । तनहुँको दुबै निर्वाचन क्षेत्रमा २७ जना उम्मेदवारहरु कायम भएका छन् । त्यसमध्ये ७ जनाले स्वयं आफुलाई मत दिन पाउँदैनन् ।
निर्वाचन कानुन अनुसार प्रतिनिधि सभाको निर्वाचनमा कुनै पनि व्यक्ति नेपालको जुनसुकै निर्वाचन क्षेत्रमा गएरपनि उम्मेदवार बन्न सक्ने व्यवस्था छ । कानुनमा जे सुकै लेखिएपनि आफ्नो मतदाता नामावली भएको निर्वाचन क्षेत्र बाहेक अन्य ठाउँमा गएर उम्मेदवार बनेकाहरुलाई मतदाताले ‘पाहुना’ या ‘पर्यटक’ उम्मेदवारको रुपमा चिन्न चहान्छन् । एकपटक यस्तै पाहुना उम्मेदवारले तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव जितेर गएपछि ‘तनहुँसँग आफ्नो गोरु बेचेको साईनो नभएको’ भनेर मतदातालाई अपमान गरेको भिडियो सामाजिक सन्जालमा अहिले ‘भाईरल’ भएको छ ।
यसैसन्दर्भमा तनहुँका दुबै निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका ‘पाहुना उम्मेदवार’ को बारेमा पनि चर्चा सुरु भइसकेको छ । तनहुँको क्षेत्र नम्बर १ मा पाँच जना यस्ता पाहुना उम्मेदवार रहेका छन् । जसले स्वयं आफुलाई नै मत दिन पाउँदैनन् । पाँच जना मध्ये तिन जना त तनहुँ जिल्लाका भन्दा अन्यत्र जिलका हुन् । ति पाँच जना पाहुना उम्मेदवारहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले पनि एक हुन् । उनको जन्म गोरखाको शहिद लखन गाउँपालिका–८ बुङकोटमा भएको थियो ।
वाग्ले बाहेक अन्य जिल्लामा घर हुनेमा कन्चनपुर जिल्लाको बेलौरी नगरपालिका–६ घर भएका राप्रपाका उम्मेदवार रामदत्त जोशी र भक्तपुरको भक्तपुर नगरपालिका घर भएकी नेपाल मजदुर किसान पार्टीकी रामलक्ष्मी दुवाल हुन् । राप्रपाका जोशी हाल आबुँखैरेनी गाउँपालिकामा बस्दै आएका छन् । यसैगरि आफुलाई मत दिन नपाउने उम्मेदवारहरुमा घिरिङ गाउँपालिका–४ घर भएका मंगोल नेशनल अर्गनाईजेशनका प्रेमबहादुर थापा, शुक्लागन्डकी नपा–७ घर भएका नेपाल जनमुक्ती पार्टीका यामबहदाुर आले रहेका छन् । उनीहरु बाहेक अन्य उम्मेदवार भने तनहुँ क्षेत्र नम्बर १ मै स्थायी बसोबास भएका व्यक्तिहरु हुन् ।
यसैगरि तनहुँ क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका ११ जना मध्ये २ जना उम्मेदवारले स्वंय आफुलाई मत दिन पाउँदैनन् । उनीहरुमा भानु नपा–९ घर भएका नेपाली काँग्रेसका शंकर भण्डारी र भानु नपा–५ घर भएका राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीराम न्यौपाने रहेका छन् । भण्डारीलाई यस अघि देखी पटक पटक पर्यटक उम्मेदवारको आरोप लाग्दै आएको थियो । उक्त आरोप यसपटक रास्वपाका न्यौपानेलाई पनि लाग्ने भएको छ ।












