तनहुँ । फागुन ९
राष्ट्रिय युवा संघ तनहुँले नेकपा एमालेको चुनाव चिन्ह सुर्य चिन्ह अंकित झण्डा जलाउने तत्वलाई कारवाही गर्न माग गरेको छ । संघले शनिबार विज्ञप्ति प्रकाशित गरि देशका विभिन्न भागमा एमालेको झण्डा जलाउने र एमालेको नेतृत्व माथी असभ्य अभिव्यक्ति दिने तत्वहरुलाई कारवाही नगरे प्रतिबादमा उत्रने चेतावनी दिएको छ ।



‘नेकपा (एमाले) को झण्डा न्यायको झण्डा हो, परिवर्तनको झण्डा हो, प्रतिशील रूपान्तरणको झण्डा हो, समावेशी लोकतन्त्रको झण्डा हो, लोकतान्त्रिक गणतन्त्रको झण्डा हो । लाखौ कार्यकर्ताको आस्था, त्याग र वलिदानले उचालिएको हाम्रो झण्डालाई च्यात्ने, जलाउने र पार्टी नेतृत्वप्रति भ्रमपूर्ण, कपोलकल्पित आक्षेप लगाउने कार्य अत्यन्त खेदजनक छ यस्ता गम्भीर राजनीतिक उच्छृङखलताको हामी घोर निन्दा, भ्रत्र्सना खेद प्रकट गर्दछौ ।’

संघले विज्ञप्तिमा भनेको छ ‘ आवधिक निर्वाचन, निर्वाध सभा समारोह र अभिव्यक्तिको स्वतन्त्रता हाम्रो लामो बलिदानी सघर्षका उपलब्धि हुन् । लोकतन्त्र अराजकताको पर्याय होइन । लोकतन्त्र मर्यादा, विधि र जिम्मेवारीको प्रणाली हो । त्यसैले लोकतन्त्रको आवरणमा अराजकता फैलाउने, समाजलाई भड्काउने, अश्लील गालीगलौज गर्ने र राजनीतिको अपराधीकीकरण बढाउने गतिर्वाधि पूर्णत यस्ता गतिविधिको राज्यपक्ष मुकदर्शक भएर बस्नु अत्यन्त आपत्तिजनक विषय भएको भन्दै युवा संघले अपराधिलाई कानुनी कठघरामा ल्याउन र अराजकता नियन्त्रण गर्न सरकार समक्ष माग गरेको छ ।
‘राष्ट्रिय युवा संघ नेपालले हरेक प्रकारका अराजकता, उद्दण्डता र आपराधिक गतिविधिलाई कानुनी दायरामा ल्याउने र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्दै तह लगाएको तथ्य जगजाहेर छ’ राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष सुरेन्द्र तामाङद्वारा जारी विज्ञिप्तमा भनिएको छ ‘सामाजिक सद्भाव बिथोल्ने, द्वेष फैलाउने र पार्टीको झण्डामाथि प्रहार गर्ने जस्ता गतिविधि असह्य छन्, यस्ता कार्यको राष्ट्रिय युवा संघ नेपाल डटेर प्रतिवाद गर्नेछ ।’

‘दाङ जिल्लामा गत फागुन ७ गते राती घटाइएको उच्छङ्गल गतिविधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, सम्बन्धित पक्ष रास्वपालाई यथाशीघ्र सार्वजनिक रूपमा माफी माग्न, यस्ता गतिबिधि तत्काल रोक्न र आफ्ना कार्यकर्तालाई अनुशासनमा राख्न स्पष्ट आग्रह गर्दछौ ।’ संघले भनेको छ ‘अन्यथा, यस्ता गतिविधि दोहोरिए वा नियोजित रूपमा जारी राखिए भने राष्ट्रिय युवा संघ नेपाल देशव्यापी रूपमा सशक्त प्रतिवादमा उत्रिन बाध्य हुनेछ । संघ यस विज्ञप्ती मार्फत देशभरका मातहत कमिटीहरूलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन गर्दछ । राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र जनताको बलिदानी संघर्षबाट प्राप्त उपलब्धिमाथि आँच आउने कुनै पनि प्रयासलाई कडा जवाफ दिइनेछ ।’












