देवघाट । बैशाख ९
चितवनको भरतपुर महानगर र तनहुँको देवघाट गाउँपालिका–५ जोड्ने त्रिशुली नदीको झोलुङ्गे पुलमा मोटरसाईकल चलाउन रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले उक्त पुलमा मोटरसाईकल चलाउन रोक लगाएको हो ।



चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उक्त झोलुङ्गे पुलको संरक्षणकोलागि मोटरसाइकल आवत जावतमा रोक लगाइने बताए । प्रजिअ अर्यालले सोमबार उक्त पुलको निरिक्षण गरि मोटरसाईकल आवत जावतमा रोक लगाउन प्रहरीलाई निर्देशन दिएका थिए ।
बैकल्पिक बाटोको रुपमा ठिमुराको पुल बनेपछि हाल सवारी साधनमा देवघाट जान आउन समस्या नरहेको भन्दै प्रजिअ अर्यालले दशकौं अघि बनेको उक्त पुल संरक्षणकोलागि पनि मोटरसाईकल सन्चालनमा रोक लगाउनुपर्ने अवस्था आएको बताए । प्रजिअ अर्यालले पुलको मुखमा संरचनागत प्रबन्ध गरेर पुलबाट मोटरसाईकल आवतजावतमा रोक लगाउन निर्देशन दिएका थिए ।
४४ वर्ष अघि निर्माण भएको उक्त पुल पछिल्लो समय निकै जिर्ण भईसकेको तथा मानिस मात्र आवतजावत गर्ने गरि डिजाईन गरिएको भन्दै पुल विभागले पछिल्लो समय अत्याधिक मात्रामा मोटरसाइकल चलाउन थालिएपछि सम्भावित दुर्घटना हुन नदिन मोटरसाईकलको आवत जावतमा रोक लगाउन सरोकारवालाहरुले पटक–पटक माग गरेका थिए ।
माघे संक्रान्तिको समयमा भने प्रत्येक वर्ष केही दिन उक्त पुलमा मोटरसाईकल सन्चालनमा रोक लगाईदै आएको छ । यस अघि २०८२ मंसिर २५ गते शहरी विकास मन्त्रालय अन्तर्गतको पुर्वाधार विकास विभाग सस्पेन्सन बृज डिभिजनले देवघाट क्षेत्र विकास समिति, जिल्ला प्रशासन कार्यालय तनहुँ र चितवन तथा भरतपुर महानगरपालिका र देवघाट गाउँपालिकालाई पत्राचार गरि उक्त झोलुङ्गे पुलमा मोटरसाईकल चलाउन रोक लगाउन अनुरोध गरेको थियो ।

सो पत्राचार पछि केही समय उक्त पुलमा मोटरसाईकल सन्चालनमा रोक लगाईएको भएपनि हाल पुनः मोटरसाईकल सन्चालनमा आएको छ । त्यसकारण अव उप्रान्त पुलमा मोटरसाईकल सन्चालन गर्न नमिल्ने गरि चितवन तर्फ स्थायी प्रकृतिको संरचनागत प्रबन्धको व्यवस्था गर्न चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दिर्नेशन दिएका हुन् ।
२०३७ सालमा निर्मित उक्त पुल जिर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको छ । भिड हुँदा एकैपटकमा पाँच सय भन्दा बढिले पुलबाट आवत जावत गर्छन् । एकै पटकमा सयौंजनाले पुल तर्दा उक्त पुल पिङ झैं हल्लने गरेको स्थानीय बासिन्दा तथा देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बताए । यदि सो पुल केही भईहालेमा सयौं नागरिकको ज्यान जोखिममा पर्ने उनले बताए ।
देवघाटमा मेला हुने दिनमा दैनिक २५/३० हजार तथा अन्य सामान्य दिनमा दैनिक पाँच हजार भन्दा बढि सर्वसाधरणले उक्त झोलुङ्गे पुलबाट आवत जावत गर्छन् । साथै देवघाट गाउँपालिका–५ का करिब ८० प्रतिशत नागरिकले चितवनको भरतपुर आउन सबैभन्दा छोटो दुरीको सोही पुल नै प्रयोग गर्दै आएका छन् । सोही पुलबाट दैनिक सयौं स्थानीयहरुले मोटरसाईकल पनि वारपार गर्दै पनि आएका छन् । हरेक वर्ष साउन महिनामा हुने बोलवम मेला, बालाचर्तुदशी, माघे संक्रान्ति मेला, औंशी, एकादशी, सुर्य ग्रहण, चन्द्र ग्रहण लगायतका धार्मिक पर्व तथा मेलाहरुमा दैनिक दशौं हजारले उक्त पुलबाट आवत जावत गर्छन् ।
देवघाट आउनकोलागि हाल उक्त झोलुङ्गे पुल बाहेक ठिमुरा, दासढुङ्गा र नवलपुर जोड्ने हर्दीमा मोटरेवल पुल सन्चालनमा रहेको तथा जुगेडीको झोलुङ्गे पुल पनि छ । तर देवघाट आउने भक्तजन मध्ये करिब ९५ प्रतिशत चितवनको आपँटारी हुँदै उक्त पुल तरेर तनहुँ प्रवेश गर्ने पौडेलले दाबी गरे ।
निर्माण भएयताको यो ४४ वर्षमा करिब ३ करोड भन्दा बढि भक्तजनले उक्त पुलबाट आवत जावत गरिसकेको पौडेलले दाबी गरे । सोही कारण पनि उक्त झोलुङ्गे पुलको विकल्प सोच्नु पर्ने बेला आएको पौडेलले बताए । अब जतिसक्दो चाँडो झोलुङ्गे पुलको विकल्प नखोज्ने हो भने कुनै पनि दिन ठुलो दुर्घटना हुने पौडेलले बताए । पौडेलले उक्त पुलको विकल्प तत्काल खोज्न नसक्ने हो भने उक्त पुलमा मोटरसाईकल सन्चालनमा रोक लगाउनुपर्ने बताउँदै आएका थिए ।
राज्यले नागरिकलाई भयरहित वातावरणमा आवत जावत गर्न पाउने अधिकार उपलब्ध गराउनु पर्ने भन्दै पौडेलले जिर्ण भएको उक्त झोलुङ्गे पुलबाट यात्रा गर्नुपर्दा नागरिकमा डर र त्रास उत्पन्न हुने गरेको बताए । ‘अहिलेसम्म केही भएको छैन, तर कुनै दिन ठुलो दुर्घटना भएमा राज्यले ठुलो मुल्य चुकाउनुपर्छ’ पौडेलले भने समयमै उक्त पुलको आसपासमा पक्की पुल बनाउने कार्य सुरु नगर्ने हो भने कुनै पनि दिन ठुलो दुर्घटना नहोला भन्न सकिन्न ।’ नदी बेष्ठित देवघाटको धार्मिक पर्यटन तथा यस क्षेत्रको विकास गर्ने हो भने हालको झोलुङ्गे पुल नजिकै अर्काे मोटरेबल पुल नै आवश्यक भएको पौडेलको जोड छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उक्त पुल बर्षेनी मर्मत सम्भार मात्र गरेर नहुने भन्दै सो पुलको आसपासमा पक्की पुल निर्माणको थालनी हुनुपर्ने बताए । देवघाट धार्मिक पर्यटनको लागि देश बिदेशमा समेत प्रख्यात बन्दै गइरहेको हुँदा सरकारले देवघाट आउने भक्तजन र स्थानीय सर्वसाधरणको सुविधा र सुरक्षाको लागि पक्की पुल बनाउनु पर्ने अध्यक्ष थापाले बताए । पक्की पुल बनाउन गाउँपालिकाको श्रोत साधनले सम्भव नहुने हुँदा प्रदेश सरकार र संघीय सरकारले नै पहलकदमी लिनुपर्ने अध्यक्ष थापाले बताए ।
अध्यक्ष थापाले गाउँपालिकाले उक्त स्थानमा पुल बनाउनकोलागि गाउँपालिकाले माथिल्लो तहका सरकारसँग अनुरोध गर्ने बताए । तर माथिल्लो निकायसँग कुरा गर्दा उक्त स्थानमा पक्की पुल बनाउन अलि सम्भव नभएको उत्तर पाएको भन्दै अध्यक्ष थापाले सस्पेन्सन्स ब्रिज मार्फत नै सन्चालनमा रहेको उक्त झोलुङ्गे पुलको थप मर्मत सम्भार गरि अझै केही बर्ष निर्वाध रुपमा सन्चालन गर्न सकिने भन्दै पुलमा मोटरसाईकल चलाउन रोक लगाउनुपर्ने बताए ।
देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठले दैनिक ५ हजार जना वारपार गर्ने पुल जिर्ण भईसक्दा पनि संघीय सरकारको कुनै ध्यानाकर्षण नभएको र स्थानीय तहले पनि भुमिका खेल्न नसकेको बताए । ठिमुराको पुल नबन्दै हाल झोलुङ्गे पुल रहेको भन्दा करिब १ सय मिटर पुर्व तर्फ मोटरेवल पुल निर्माणकोलागि माटो परिक्षण भइसकेको श्रेष्ठले बताए । ‘तर दासढुङ्गामा मोटरेबल पुल बनेपछि राजनीतिक कारणले ठिमुरामा पनि पुल बनाईयो’ श्रेष्ठले भने ‘तर जहाँ आवश्यकता हो, त्यहाँ भने कनै वास्ता गरिएन ।’
ठिमुरामा पुल महसुश गर्ने सरकारले मुख्य ठाउँमा भने किन पुलको आवश्यकता देखेन भन्दै श्रेष्ठले प्रश्न गरेका छन् । जहाँ आवश्यकता हो, विकास पनि त्यही गर्नु पर्ने श्रेष्ठले बताए । जिर्ण भएको झोलुङ्गे पुलको बर्षेनी मर्मत सम्भार गरेर अव नचल्ने हुँदा जतिसक्दो चाँडो मोटरेवल पुल बनाउनु पर्ने उनले बताए ।












