देवघाट । बैशाख १२
देवघाट गाउँपालिका वडा नम्बर ५ कार्यालयले मुग्लिन–गाईघाट–दासढुङ्गा ठिमुरा–गैडाकोट सडक (मुग्लिन–नारायणगढ सडकको बैकल्पिक सकड) को लागि वजेट माग गरेको छ । वडा कार्यायले अर्थमन्त्रीलाई पत्र पठाई उक्त सडक निर्माणकोलागि आवश्यक अनुमानित अक्षरुपी तिन अर्व पचास करोड रुपैयाँ विनियोजन गर्न माग गरेको हो ।



हाल सन्चालन हुँदै आएको नारायणगढ–मुग्लिन सडक प्रत्येक वर्ष भौतिक तथा प्राकृतिक समस्याले बेला बेलामा अवरुद्ध हुने गरेको र नेपाल सरकारले सो को वैकल्पिक मार्गलाई भौतिक मन्त्रालय मातहतको सडक विभागले नै मुग्लिन–गाईघाट दासढुङ्गा ठिमुरा गैडाकोट (नारायणगढ–मुग्लिन वैकल्पिक मार्ग) को नाउँमा रातो किताबमा समाबेश गराई गत वर्षहरुमा न्युन रकम प्रवाह गरेको छ ।
तनहुँतर्फ मुग्लिन देखि लगभग ५ कि.मि ट्रयाक बनाउने काम भइसकेको र बाँकी उक्त शिर्षकको रणनैतिक वैकल्पिक राजमार्गलाई सर्वे डिपिआर भई सो को रिपोर्ट र नक्सा सडक विभागमा पुगिसकेको हुँदा बाँकी ट्रयाक निर्माण र सेती नदी माथि पक्की पुल साथै अन्य खोला खोल्सीमा पुल कल्भर्ट नाला र राजमार्गको मापदण्ड अनुसार पक्की पिच रोड सम्पन्न गर्न आवश्यक अनुमानित तिन अर्व पचास करोड रुपैयाँ विनियोजन यसै आर्थिक वर्षमा नै ठेक्का आह्वान गराई यसै वर्ष देखि रोडको काम अघि बढाउँन अनुरोध गरिएको छ ।

उक्त सडक निर्माण भएमा आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका र तनहुँको दक्षिण तर्फ यातायात नपुगेका क्षेत्रहरुलाई निकास खुल्ने बुद्धसिङ मार्ग पनि जोडिने साथै पश्चिम नेपाल देखि आउने सम्पूर्ण सवारी साधनलाई सुविधा पुगि राज्य नै लाभान्वित हुने हुँदा उक्त राजमार्गलाई सम्पन्न गर्न आवश्यक वजेट प्रवाह गरी कार्य प्रक्रिया अगाडी वढाउन वडा अध्यक्ष पुर्णबहादुर कुवरले अनुरोध गरेका छन् ।
देवघाट गाउँपालिका वडा नम्बर ५ का वरिष्ठ समाजसेवी कूलचन्द्र न्यौपानेको विशेष सक्रियता र पहलमा देवघाट गाउँपालिका वडा नम्बर ५ न वडा कार्यालयको समन्वयमा स्थानीय प्रतिनिधिमण्डलको हालै अर्थ मन्त्रालय र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय एवं विभिन्न निकायमा सो सम्बन्धी निबेदन पेश गरिएको छ ।
मुग्लिन–नारायणगढ खण्डको हाल सन्चालनमा रहेको सडकको विकल्पको रुपमा लिईएको मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैडाकोट सडकको ट्रयाक खोल्ने कार्य गत वर्षदेखी सुरु भएको छ । उक्त बैकल्पिक सडकमा पहिलो चरणको ट्रयाक खोल्न सडक विभागले चालु आर्थिक वर्षकोलागि २ करोड ६९ लाख ३२ हजार ५०० रुपैयाँ विनियोजन गरेको थियो । सडक निर्माणको ठेक्का पाएको डिभाइन लाईट कंस्ट्रक्सन कम्पनीले गत साताबाट दुई वटा ठुला जेसिभि प्रयोग गरि सडक ट्रयाक खन्ने काम सुरु गरेको हो ।

तराईका जिल्लाहरुलाई राजधानीसँग जोड्ने नारायणगढ–मुग्लिन सडकको विकल्पमा मुग्लिनबाट गाइघाट, दासढुङ्गा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैडाकोट जोड्ने सडकको डिपिआर पश्चात सडक विभागले पहिलो चरणको ठेक्का लगाएको हो । पश्चिम तराईलाई मुग्लिन जोड्ने हाल सन्चालन भईरहेको नारायणगढ बजार हुँदैको सडकको विकल्पमा गैैडाकोट हुँदै दासढुङ्गा जोड्ने गरि बैकल्पिक सडक निर्माण गर्नु पर्ने देवघाटबासीले माग गर्दै आएका थिए ।
देवघाटका समाजसेवी कुलचन्द्र न्यौपानेले पटक–पटक यस सम्बन्धी आवाज उठाउँदै आएका थिए । न्यौपानेकै पहलमा उक्त सडकको लागि रकम विनियोजन भएको हो । नवलपुरको गैैडाकोट नगरपालिका–३ ब्रिटिसक्याम्प र देवघाट गाउँपालिका–५ देउपुर हुँदै दासढुङ्गा जोड्ने वैकल्पिक सडक र उक्त बाटोहुँदै दासढुङ्गादेखी मुग्लिनसम्म तनहुँ तर्फ त्रिशुलीको किनार किनारै बैकल्पिक राष्ट्रिय राजमार्ग आवश्यक भएको भन्दै न्यौपानेको नेतृत्वमा सडक डिभिजन चितवन, सडक विभाग र भौतिक पुर्वाधार मन्त्रालयसम्म डेलिगेशन भएको थियो । उक्त सडकको ट्रयाक खन्न थालिएपछि खुसी व्यक्त गर्दै समाजसेवी न्यौपानेले आफ्नो वर्षाैदेखीको प्रयत्नले सार्थकता पाएको बताए ।

उक्त बैकल्पिक राजमार्गको बारेमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/०७४ को बजेट तथा सरकारको नीति तथा कार्यक्रममा मै सर्भे र डिपिआरको लागि बजेट बिनियोजन गरिसकेको तत्कालिन सरकारले उक्त सडक निर्माण गर्न २३० करोड रुपैयाँ बिनियोजन समेत गरिसकेपछि पनि त्यसपछिको सरकारले उक्त योजना रद्ध गरेको नेकपा एमाले जिल्ला कमिटिका सदस्य केशवचन्द्र न्यौपानेले बताए ।
उक्त सडक निर्माण गर्न सके देवघाटको गाउँपालिका आर्थिक र धार्मिक पर्यटनको केन्द्र बन्ने हुँदा यसकोलागि गाउँपालिकाले पहल थाल्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । हाल देवघाट गाउँपालिकालाई राष्ट्रिय राजमार्गले नछोएको हुँदा गैंडाकोटबाट देवघाट हुँदै दासढुङ्गा जाने सडक निर्माण गर्न सके देवघाटमा धेरै भन्दा धेरै पर्यटक भित्रिने र देवघाटको धार्मिक पर्यटनको विकास हुने अध्यक्ष थापाले बताए । पहिलो चरणमा गैंडाकोटदेखी दासढुङ्गासम्म सडक निर्माण गर्न सके त्यसपछि दासढुङ्गादेखी मुग्लिनसम्म त्रिशुली नदीको किनारमा तनहुँ तर्फ अर्काे राष्ट्रिय राजमार्ग निर्माण गर्न सकिने अध्यक्ष थापाको भनाई छ ।
हाल सन्चालनमा रहेको मुग्लिन–नारायणगढ सडकमा वर्षाको समयमा पहिरो गएर ठुलो समस्या भोग्नु परेको हुँदा बैकल्पिक सडक निर्माणको लागि तत्काल पहल थाल्न समाजसेवी न्यौपानेले माग गरेका थिए । तनहुँ तर्फ अर्काे राष्ट्रिय सडक निर्माण गर्न सकेमा हाल विकासमा निकै पछाडी परेको तनहुँको देवघाट तथा आवुँखैरेनी गाउँपालिकाका धेरै बस्तीहरुलाई विकासको मुलधारमा ल्याउन सकिने वडा नम्बर देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले बताए ।
नारायणगढ–मुग्लिन सडकमा हरेक वर्ष पहिरोले दुःख दिन थालेपछि सरकारी तहबाट नै नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको हो । वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटरको दूरी पर्छ । त्यसमा पनि गैँडाकोटदेखि दासढुङ्गासम्मको १६ किलोमिटर पर्छ भने दासढुङ्गादेखि मुग्लिनसम्मको २२ किलोमिटर सडक बनाउने हो भने नारायणगढ–मुग्लिन सडककै कारण यात्रुले भोग्नुपरेको समस्या समाधान हुने विश्वास गरिएको छ ।












