तनहुँ–२ का अधुरा सपना अब पूरा हुने सांसद न्यौपानेको दाबी

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ३१

प्रतिनिधि सभाका सांसद श्रीराम न्यौपानेले तनहुँ क्षेत्र नम्बर २ का अधुरा योजनाहरु अव पुरा हुने दाबी गरेका छन् । जनताले वर्षौँदेखि अपेक्षा गर्नुभएको कृष्णमार्ग, श्रृङ्गपथ र दुलेगौंडा–हर्कपुर मोटर मार्ग निर्माणको विषयमा आफु निरन्तर पहलमा रहेको भन्दै सांसद न्यौपानेले लामो समयदेखि विभिन्न मुद्दा, प्रक्रिया र कानुनी जटिलताका कारण अलपत्र परेका यी मात्र होइन देशै भरिका योजनाहरू अब समाधानतर्फ अघि बढिरहेको दाबी गरेका छन् ।

‘हिजो तपाईंहरूसँग मत माग्ने क्रममा गरेका प्रतिबद्धताहरूलाई आज व्यवहारमा उतार्ने जिम्मेवारी सहित म संघीय संसदमा सक्रिय छु’ सांसद न्यौपानेले भने ‘विकास निर्माणका काम अदालत वा कानुनी प्रक्रियामा अल्झिएर रोकिन नपरोस् भन्ने उद्देश्यले मेरो सक्रियतामा नयाँ कानुनी व्यवस्था निर्माण गर्ने काम सम्पन्न भइसकेको छ ।’ यसले अब यस्ता महत्वपूर्ण पूर्वाधार योजनाहरूलाई निरन्तरता दिन सहज वातावरण तयार गर्नेछ उनले दाबी गरे ।

आगामी आर्थिक वर्षभित्र कृष्णमार्ग, श्रृङ्गपथ र दुलेगौंडा–हर्कपुर मोटर मार्ग सहित थप केहि योजनालाई निर्माण प्रक्रियामा अघि बढाउने लक्ष्यसहित आफ्नो पहल निरन्तर जारी रहेको न्यौपानेले बताए । त्यसका लागि जेठ १५ गते प्रस्तुत हुने बजेट र त्यसपछिको ‘रातो किताब’ मार्फत सकारात्मक समाचार आउनेमा आफु आशावादी रहेको उनले बताए ।

तनहुँ क्षेत्र नम्बर २ का सम्पूर्ण जनसमुदायलाई केही समय धैर्य गर्न विनम्र अनुरोध गर्दै उनले भनेका छन् ‘तपाईंहरूको अपेक्षा, विश्वास र साथ नै मेरो मुख्य शक्ति हो, अधुरा विकासका सपना अब धेरै समय अधुरा रहने छैनन् ।’

सांसद न्यौपानेले विहिबार प्रतिनिधि सभाको बैठकमा पनि तनहुँ क्षेत्र नम्बर २ अन्तर्गतका विभिन्न सडकहरु निर्माणको लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू