देवघाट । जेठ ८
देवघाट गाउँपालिकाले बालमैत्री सम्बन्धि विवरणको तथ्यांक संकलन गर्ने भएको छ । घरधुरी सर्वेक्षण मार्फत गाउँपालिकाले बालमैत्री सम्बन्धि विवरणहरुको तथ्यांक संकलन गर्ने भएको हो ।



नेपाल सरकारले जारी गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि, २०७९ बमोजिम वि.सं. २०८७ सम्म सबै स्थानीय तहलाई बालमैत्री बनाउने लक्ष्य लिएको हुँदा देवघाट गाउँपालिकाले पनि बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेको जनाएको छ । बालमैत्री स्थानीय शासन प्रवद्र्धनको पहिलो चरणमा बालबालिकाको वस्तुस्थिति विवरण सार्वजनिक गर्नुपर्ने भएकोले उक्त कार्यको लागि बालमैत्री तथ्याङ्क संकलन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन तथा बालअधिकार सुनिश्चित गर्ने उद्देश्यले गाउँपालिका क्षेत्रभित्रका बालबालिकासँग सम्बन्धित विवरणहरूको तथ्यांक संकलन गर्ने कार्य सञ्चालन गर्ने भएको छ। यस अभियानअन्तर्गत स्वास्थ्य, शिक्षा, संरक्षण, सहभागिता, पोषण, जन्मदर्ता, विद्यालय भर्ना, बालश्रम, बालविवाह, अपांगता, सरसफाइ तथा बालमैत्री सूचकसँग सम्बन्धित आवश्यक विवरण संकलन गरिने गाउँपालिकाले जनाएको छ।
त्यसको लागि विवरण सङ्कलकहरु सवै वडा र टोलमा खटाईएको गाउँपालिकाले जनाएको छ । घर–घरमा आउने गणकहरुलाई आफ्नो र परिवारको सत्य, तथ्य र पूर्ण विवरण उपलब्ध गराई आवश्यक सहयोग गर्न गाउँपालिकाले अनुरोध गरेको छ । सङ्कलन गरिएका सम्पूर्ण विवरण सुरक्षित राखी केवल बालमैत्री स्थानीय शासनको योजना निर्माण, बालमैत्री वडा, पालिका घोषणा र बालबालिकाको सर्वोत्तम हितसम्बन्धी कार्यक्रम सञ्चालनका लागि मात्र प्रयोग गरिने गाउँपालिकाले जनाएको छ ।

तथ्यांक संकलन कार्य वडा स्तरमा परिचालित गणक तथा सम्बन्धित सरोकारवालामार्फत घरधुरी तथा संस्थागत स्तरमा गरिनेछ। संकलित विवरणलाई बालमैत्री स्थानीय शासन घोषणा तथा नीति निर्माणमा आधार सामग्रीका रूपमा प्रयोग गरिनेछ।
यस कार्यलाई थप व्यवस्थित, प्रभावकारी र यथार्थपरक बनाउन देवघाट गाउँपालिकामा क्रियाशील राजनीतिक दल, वडा समितिहरु, स्थानीय अगुवा तथा गाउँबासीहरुलाई टोल–टोलमा पुग्ने गणकहरुलाई आवश्यक भौगोलिक मार्गनिर्देशन तथा तथ्याङ्क सङ्कलन कार्यमा सहजीकरण गर्न, स्थानीय बासिन्दाहरुले आफ्नो घरपरिवारको सही, यथार्थ र पूर्ण विवरण उपलब्ध गराउन, तथ्याङ्क सङ्कलनको क्रममा गणकहरुलाई आवश्यक सहयोग, समन्वय र सुरक्षित वातावरण सुनिश्चित गर्न तथा कुनै किसिमको भ्रम, गलत सूचना वा अवरोध नगरी बालमैत्री स्थानीय शासन प्रवद्र्धनको अभियानलाई सफल बनाउन सक्रिय सहभागिता जनाउन पनि गाउँपालिकाले अनुरोध गरेको छ ।












