रास्वपा तनहुँको सभापतीमा बास्तोला बिजयी

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २४

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको सभापतीमा विश्वनाथ बास्तोला बिजयी भएका छन् । आइतबार दमौलीमा सम्पन्न उक्त पार्टीको प्रथम जिल्ला अधिवेशनबाट बास्तोला सभापतीमा बिजयी भएका थिए ।

सभापतीमा पदमा भएको निर्वाचनमा बास्तोलाले १८७ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी डा.शेषरमण न्यौपानेले ६४ मत प्राप्त गरेका थिए । बास्तोला यसअघि पनि रास्वपा तनहुँको सभापती थिए ।

उपसभापतीमा १३१ मत पाई विष्णुबहादुर पन्त निर्वाचित भएका छन् । उपसभापतीका अर्का उम्मेदवार पदमराज न्यौपानेले १२४ मत पाएका थिए । यस्तै सचिवमा अनिल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । सहसचिवमा दुर्गाकुमार श्रेष्ठ १२७ मत पाई बिजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी पदम सुनारले १२६ मत पाएका थिए । सहसचिवमा एक मन्त अन्तरले श्रेष्ठ बिजयी भएका थिए ।

त्यसैगरि सदस्यहरुमा सीता विक, अम्बिका वाग्ले, सीता अधिकारी, अन्जु दाहाल र केशबहादु थापा तथा क्षेत्रीय संयोजकमा क्षेत्र नम्बर १ मा शशी रुपाखेती र क्षेत्र नम्बर २ मा सुन्दर बस्याल सर्वसम्मत निर्वाचित भएका थिए ।

सभापती बास्तोलाको अध्यक्षतामा भएको जिल्ला अधिवेशनको रास्वपाका केन्द्रीय उर्जा विभागका प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद ई.श्रीराम न्यौपानेले उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताए । उनले देशको ठूलो शक्ति रास्वपामाथि जनताको आशा र भरोसा रहेकाले यो पार्टीलाई असफल हुने छुट नरहेको बताए । न्यौपानेले विगतका सरकार आफ्नै झगडाबाट अपदस्थ भएको चर्चा गर्नुहुँदै करिब दुई तिहाइ नजिक रहेको वर्तमान सरकारलाई अन्य शक्तिबाट आफ्नैबाट खतरा रहेको बताए । ‘बाहिरको संख्या अत्यन्तै न्यून छ, रास्वपाको संख्या बढ्दो छ, अन्य पार्टीबाट रास्वपामा आएकाले विगतको स्कुलिङ त्याग्नुपर्छ । राणातन्त्र, राजतन्त्रको अन्त्य पनि आफ्नैभित्रको कारणले भएको हो । पुराना दल पनि चकनाचुर भएका आफ्नै पार्टीभित्रको द्वन्द्वले हो ।’

सांसद न्यौपानेले जुन आशा, भरोसाका कारण रास्वपालाई करिब ५२ लाख मत प्राप्त भएको छ विगतबाट पाठ सिकेर अगाडि बढ्दै जनताको भरोसालाई गन्तव्यसम्म पु¥याउनुपर्ने बताए ।

उक्त कार्यक्रममा रास्वपा गण्डकी प्रदेशका प्रवक्ता शंकर पन्तले पार्टीमा को पहिला आयो, को पछि आयो भन्ने कुरा ठूलो नभएको बताउँदै सङ्गठनलाई बलियो बनाउनु अहिलेको आवश्यकता रहेको बताए ।

कार्यक्रममा रास्वपा तनहुँका संस्थापक सभापति विकास सिग्देल, क्षेत्र नम्बर २ का संयोजक सुन्दर बस्याल, १ का सचिव शशी रूपाखेती, व्यास नगर सभापति चुडामणि दाहाल, शुक्लागण्डकी नगर सभापति हरिबहादुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू