तनहुँ । जेठ २४
प्रदेश आयुर्वेद चिकित्सालय दमौली, तनहुँको आयोजना तथा भिमाद आयुर्वेद औषधालयको समन्वयमा भिमादमा दुई दिवसीय गुदारोग सम्बन्धी विशेष आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।



भिमाद आयुर्वेद औषधालयको प्राङ्गणमा शनिबार र आइतबार सञ्चालन भएको शिविरमा गुदारोग अन्तर्गत पर्ने पाइल्स, फिस्टुला र फिसर लगायतका समस्याबाट पीडित बिरामीहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण गरिएको थियो । उक्त शिविरमा नरदेवी आयुर्वेद अस्पताल, काठमाडौँमा कार्यरत अनुभवी शल्य चिकित्सक डा. रमेश पौडेल तथा प्रदेश आयुर्वेद चिकित्सालयका आयुर्वेद चिकित्सकहरूको प्राविधिक टोलीले प्रत्यक्ष सेवा प्रदान गरेको थियो ।

शिविरबाट कुल ५० जना बिरामीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । सेवा लिनेहरूमा २५ जना महिला, २२ जना पुरुष, २ जना बालिका र १ जना बालक रहेका छन्। शिविरमा आएका बिरामीहरूमध्ये स्वास्थ्य अवस्था हेरी थप उपचारको आवश्यकता भएका १५ जना बिरामीको आयुर्वेदिक ‘क्षारसूत्र विधि’ बाट सफल शल्यक्रिया समेत गरिएको प्रदेश आयुर्वेद चिकित्सालयका बरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईले जानकारी दिए ।
चिकित्सकहरूका अनुसार गुदारोग सम्बन्धी समस्याहरू समाजमा धेरै भए पनि लोकलाजका कारण मानिसहरू समयमै अस्पताल आउन हिचकिचाउने गरेका छन् । यस प्रकारका विशेषज्ञ शिविरले रोगको समयमै पहिचान, शल्यक्रियाविना वा सुरक्षित आयुर्वेदिक पद्धतिबाट प्रभावकारी उपचार तथा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । साथै, पछिल्लो समय गोपनीयतापूर्ण सेवा र उचित परामर्शका कारण आयुर्वेदिक उपचार पद्धतिप्रति नागरिकको विश्वास र पहुँच विस्तार गर्न समेत यस्ता कार्यक्रम प्रभावकारी देखिएका छन् ।

प्रदेश आयुर्वेद चिकित्सालय, दमौलीले आगामी दिनहरूमा पनि सर्वसाधारणको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै गुणस्तरीय र सुरक्षित आयुर्वेद स्वास्थ्य सेवा प्रवाहका लागि विभिन्न स्थानहरूमा यस्ता विशेषज्ञ स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।











