विष्णु मगर । देवघाट, जेठ २५
देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले केवल जंगल संरक्षणमै सीमित नरही समाज र युवाको भविष्य जोगाउने अभियानलाई समेत अगाडि बढाएको छ ।



बढ्दो कुलत, मोबाइलको दुरुपयोग, बेरोजगारी तथा सामाजिक विकृतिका कारण गाउँका युवा गलत बाटोतर्फ धकेलिँदै गएको अवस्थालाई मध्यनजर गर्दै वनले विभिन्न टोल विकास संस्थालाई खेलकुद सामग्री वितरण गरेको मधुवन सामुदायिक वनका उपाध्यक्ष कमला देवकोटाले बताए ।
कार्यक्रमअन्तर्गत तालवारी झारखानी, कमला, पिपलटार तथा रातामाटे सुन्दरबस्ती टोल विकास संस्थालाई एक–एक थान भलिबल र नेट तथा तीनकन्या र कालिका टोल विकास संस्थालाई एक–एक सेट क्रिकेट सामग्री हस्तान्तरण गरिएको छ ।
मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरीले खेलकुदले युवालाई कुलत, हिंसा, विकृति र निराशाबाट टाढा राख्दै अनुशासन, नेतृत्व विकास र सामाजिक एकताको भावना बलियो बनाउने भएकाले वनले सामाजिक क्षेत्रमा समेत लगानी बढाउँदै गएको बताए ।
उनले सामुदायिक वन केवल रुख संरक्षण गर्ने संस्था नभई समाज रूपान्तरण र युवाको भविष्य निर्माणको जिम्मेवारी पनि बहन गर्नुपर्ने धारणा व्यक्त गरे । ‘आज युवाको ऊर्जा मैदानमा खर्च भएन भने भोलि त्यही ऊर्जा समाजविरुद्ध प्रयोग हुन सक्छ’ अध्यक्ष गिरीले भने, ‘त्यसैले अब हरेक गाउँमा खेल, अनुशासन र सकारात्मक सोचको वातावरण बनाउनैपर्छ ।’
उनले वनको आम्दानी समाजकै भविष्य निर्माणमा खर्च हुनुपर्ने मान्यता राख्दै अब सामुदायिक वनहरू सामाजिक परिवर्तनका अगुवा बन्नुपर्ने आवश्यकता औंल्याए । स्थानीय युवाहरूले समेत खेल सामग्री पाएपछि गाउँमा खेल गतिविधि बढ्ने, आपसी एकता मजबुत हुने र कुलतविरुद्ध सकारात्मक अभियान सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् ।
जंगल जोगाएर हरियाली बचाउने मात्र होइन, युवाको भविष्य जोगाएर समाज बचाउने अभियानमा मधुवन सामुदायिक वनले दिएको सन्देश अहिले देवघाट क्षेत्रमा निकै अर्थपूर्ण र उदाहरणीय रूपमा हेरिएको छ ।












