देवघाटमा सूचना प्रविधिसम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट । जेठ ३१

देवघाट गाउँपालिकाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि सञ्चालन गरिएको सूचना प्रविधिसम्बन्धी ५ दिने क्षमता विकास तालिम आइतबार सम्पन्न भएको छ ।

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले सूचना प्रविधि आजको आवश्यकता मात्र नभई विकास, सुशासन र समृद्धिको प्रमुख आधार बनेको बताए । अध्यक्ष थापाले प्रविधिको प्रभावकारी प्रयोगमार्फत नागरिक सेवामा सहजता, पारदर्शिता र प्रभावकारिता अभिवृद्धि गर्न गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गरे । विश्वव्यापी सूचना आदान–प्रदानको युगमा विज्ञान तथा प्रविधिले संसारलाई एउटै दिशामा जोडेको उल्लेख गर्दै अध्यक्ष थापाले शिक्षकहरूले समयअनुकूल प्रविधिमैत्री शिक्षा प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष मित्रलाल गुरुङले देवघाटका केही भौगोलिक रूपमा विकट क्षेत्रमा अझै पनि इन्टरनेट तथा आवश्यक प्रविधिमैत्री पूर्वाधारको पहुँच नपुगेको बताए । सूचना तथा सञ्चार प्रविधि सम्बन्धी ज्ञान वर्तमान समयमा अपरिहार्य भइसकेको उल्लेख गर्दै उनले विद्यालय तथा संघसंस्थाहरूले आफ्नो कार्यसम्पादन र आर्थिक गतिविधिलाई प्रविधिमार्फत पारदर्शी रूपमा प्रस्तुत गर्न सके बेरुजु न्यूनीकरण भई समग्र पालिकाको मूल्याङ्कनमा सकारात्मक प्रभाव पर्ने बताए ।

त्यसैगरी शिक्षा तथा खेलकुद शाखा प्रमुख होमनाथ लामिछानेले सबै विद्यार्थी सधैं विद्यालयमा उपस्थित हुन नसक्ने अवस्थालाई मध्यनजर गर्दै वैकल्पिक सिकाइका माध्यमलाई प्रभावकारी बनाउन सरकारको नीतिअनुसार ‘सिकाइ चौतारी’ जस्ता डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याइएको जानकारी दिए । उक्त प्लेटफर्ममार्फत कक्षा १ देखि १२ सम्मका आवश्यक पाठ्यसामग्री उपलब्ध हुने र शिक्षक तथा विद्यार्थी दुवैले अध्ययन–अध्यापनलाई थप प्रभावकारी बनाउन सक्ने उनले बताए ।

तालिममा प्रशिक्षक प्रशन्न ढकाल र विष्णु अधिकारीले सूचना प्रविधिको प्रयोग, डिजिटल शिक्षण सामग्री निर्माण, अनलाइन सिकाइ व्यवस्थापन तथा आधुनिक शिक्षण प्रविधिका विषयमा प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर