देवघाट । जेठ ३१
अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘आफ्नो रक्त समूह चिनौं, रक्तदानका लागि सधैं तयार रहौं’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा १५० जनाको रक्त समूह परीक्षण गरियो ।



देवघाट धर्मार्थ अस्पतालमा सम्पन्न उक्त कार्यक्रम देवघाट गाउँपालिका स्वास्थ्य शाखाको सहयोगमा आयोजना गरिएको हो । कार्यक्रममा वेद वेदाङ्ग संस्कृत विद्यापीठका विद्यार्थी, देवघाटधाम जेसीजका पदाधिकारी तथा सदस्यहरू र स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

देवघाटधाम जेसीज वर्ष २०२६ का अध्यक्ष अर्जुन सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवेन्द्र सापकोटाले संयोजकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले रक्त समूहको जानकारी प्रत्येक नागरिकका लागि आधारभूत स्वास्थ्य जानकारी भएको उल्लेख गर्दै आकस्मिक अवस्था, दुर्घटना तथा शल्यक्रियाका बेला समयमै रगत उपलब्ध गराउन रक्त समूहको जानकारी अत्यन्त महत्वपूर्ण हुने बताए ।
उनले रक्तदानलाई मानव जीवन बचाउने महान् सामाजिक अभियानको रूपमा व्याख्या गर्दै युवाहरूलाई रक्तदानप्रति प्रेरित गर्न र सुरक्षित रक्तदाता सञ्जाल निर्माणमा योगदान पु¥याउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।

कार्यक्रम मार्फत सहभागीहरूलाई रक्त समूहको महत्व, आकस्मिक अवस्थाका लागि पूर्वतयारी तथा नियमित रक्तदानको आवश्यकता सम्बन्धी जानकारीसमेत प्रदान गरिएको थियो । सहभागीहरूले कार्यक्रमलाई समुदायको हितमा केन्द्रित, उपयोगी र समयसापेक्ष पहलको रूपमा प्रशंसा गरेका थिए ।
स्वास्थ्य सचेतना अभिवृद्धि, रक्तदान संस्कृतिको विकास तथा जीवनरक्षक रक्तदाता सञ्जाल निर्माणमा योगदान पु¥याउने उद्देश्यसहित देवघाटधाम जेसीजले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।












