भादगाउँ खानेपानी उपभोक्ता संस्थाको निर्वाचन शुक्रबार, निर्वाचन कार्य रद्ध गर्न केही उपभोक्ताको माग

Devghat Online

शेयर गरौ

तनहुँ । असार १८

व्यास नपा १ स्थित भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वकोलागि बिहिबार उम्मेदवारहरुको मनोनयन दर्ता गरिएको छ । संस्थाको आठौं अधिवेशन अन्तर्गत विहिबार उम्मेदवारहरुको मनोनयन दर्ता गरिएको हो ।

उपभोक्ता संस्थाको निर्वाचन संयोजक केशव भट्टराईका अनुसार अध्यक्ष पदमा रामकुमार गोशेली र सन्त बहादुर तामाङको उम्मेदवारी परेको छ । उपाध्यक्षमा हालका सचिव राजेश्वर हड्खलेको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै सचिवमा विष्णुबहादुर बस्नेत, कोषाध्यक्षमा सहविर उचाई र सहसचिवमा शान्त खवास पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

सदस्यहरुमा भने २२ जनाको उम्मेदवारी परेको छ । सदस्यका उम्मेदवारहरुमा कृष्णबहादुर अधिकारी, पुर्णबहादुर दरै, सुरेन्द्र दरै, सिता रायमाझी, चन्द्रीदेवी तिवारी श्रेष्ठ, यामबहादुर आले, ठाकुर दरै, दिपा आचार्य, अप्सरा रानाभाट, बिन्दु घर्ती, इश्वरी गौली, दिपक घिमिरे, श्रीभद्र कडेंल, सन्जय गुरुङ, बलराम अधिकारी, कृष्णबहादुर दरै, कमला कार्की अधिकारी, शारदा बसौला, गंगाप्रसाद पोख्रेल, राजेन्द्र कुमार परियार, सोमनाथ पौडेल र सरला श्रेष्ठ रहेका छन् । उपभोक्ता संस्थाको नयाँ नेतृत्वको लागि शुक्रबार निर्वाचन हुने भएको छ ।

यसैविच उपभोक्ता समितिको निर्वाचनमा मतदानबाट बञ्चित बनेका केही उपभोक्ताहरुले निर्वाचन सम्बन्धी सम्पुर्ण कार्य स्थगित गर्न माग गरेका छन् । ति उपभोक्ताहरुले विहिबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाई निर्वाचन सम्बन्धि सम्पुर्ण कार्य रोक लगाउन माग गरेका हुन् । उनीहरुले सर्वपक्षिय सहमतीबाट पहिले संस्थाको विधान संशोधन गर्ने र त्यसपछि सहमतीका आधारमा अधिवेशन गर्नुपर्ने माग गरेका छन् । ३५ जना उपभोक्ताहरुले निर्वाचन कार्य स्थगित गराउन जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेका छन् ।

‘संस्थाको आठौं अधिवेशनकालागि विभिन्न मितिमा प्रकाशित सूचना तथा निर्वाचन कार्यतालिका अनुसार प्रक्रिया अघि बढिरहेको अवस्थामा उपभोक्ता प्रतिनिधिहरू, सर्वदलीय तथा सर्वपक्षीय समन्वयबाट पहिले विधान संशोधन गर्ने र त्यसपछि सहमतिका आधारमा अधिवेशन सम्पन्न गर्ने स्पष्ट समझदारी बनेको थियो । सोही सहमतिलाई आधार मानी निर्वाचन समितिले मिति २०८३/०३/१३ गते प्रकाशित सूचनामार्फत मनोनयन दर्तालगायतका निर्वाचन कार्यक्रम स्थगित गरी सहमतिका लागि समयसमेत उपलब्ध गराएको थियो ।’ असन्तुष्ट उपभोक्ताहरुले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘जिल्ला प्रशासन कार्यालय, तनहुँले मिति २०८३/०३/१२ गते पठाएको पत्रमार्फत संस्थाको विधान संशोधन, प्रतिनिधित्व, लेखापरीक्षण तथा उपभोक्ताहरूबाट उठाइएका विषयहरूलाई निष्पक्ष रूपमा सम्बोधन गर्दै सम्पूर्ण उपभोक्ताको सहभागिता सुनिश्चित गरी सहमतिका आधारमा प्रक्रिया अगाडि बढाउन निर्देशनात्मक अनुरोध गरेको थियो ।’

‘तर, उक्त सहमति, छलफल तथा जिल्ला प्रशासन कार्यालयको पत्रको भावना विपरीत कुनै सर्वपक्षीय छलफल वा सहमति नगरी निर्वाचन अधिकृतबाट एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अघि बढाउने सूचना प्रकाशित गरिएकोमा हामी उपभोक्ताहरूको गम्भीर ध्यानाकर्षण भएको छ । यसले उपभोक्ताहरूबीच पुनः विवाद सिर्जना गर्ने, संस्थामा दीर्घकालीन असहज अवस्था ल्याउने तथा लोकतान्त्रिक अभ्यास र उपभोक्ताको अधिकारमाथि प्रतिकूल असर पार्ने देखिन्छ ।’ उनीहरुले भनेका छन् ।

‘यस संस्थामा लामो समयदेखि एउटै समूह र केही व्यक्तिहरू एउटै पदमा निरन्तर रहँदै आएको, उपभोक्ताका गुनासा सुन्नुभन्दा संस्थालाई निजी सम्पत्तिजस्तो व्यवहार गरिएको, आर्थिक पारदर्शितामा प्रश्न उठेको, आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण तथा वार्षिक हिसाबकिताब प्रस्तुत नगरी हतारमा अधिवेशन गराउन खोजिएको तथा असार ६ गतेको साधारण सभाबाट पारित भएका विधान संशोधनका विषयहरूलाई बेवास्ता गरिएकोप्रति उपभोक्ताहरूको गम्भीर असन्तुष्टि रहेको छ ।’

‘यदि निर्वाचन नै गर्ने हो भने, साधारणसभाबाट पारित संशोधित विधानलाई विधिसम्मत रूपमा लिपिबद्ध गरी लागू गरेपछि मात्रै सोही विधानअनुसार निर्वाचन गराइनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ । नयाँ उपभोक्तालाई पदाधिकारीमा उम्मेदवारी दिन नदिने, २०–२५ वर्षदेखि एउटै समूहले एउटै पदमा निर्विरोध हुँदै आउने परम्पराले संस्थामा नेतृत्व विकास, प्रतिस्पर्धा र उत्तरदायित्व कमजोर बनाएको छ । आफूहरू लोकप्रिय भएको दाबी गर्नेहरूले संशोधित विधानअनुसार खुला प्रतिस्पर्धामा निर्वाचनमा सहभागी हुन कुनै आपत्ति हुनुहुँदैन भन्ने हाम्रो विश्वास छ ।’ ति उपभोक्ताहरुले भनेका छन् ‘यदि संशोधित विधानलाई बेवास्ता गरी पुरानै विवादित व्यवस्थाअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाइएमा, त्यस्तो निर्वाचनलाई हामी वैधानिक र नैतिक रूपमा स्वीकार गर्ने छैनौं । आवश्यक परेमा उक्त निर्वाचनको बहिष्कार गर्ने तथा प्रचलित कानूनबमोजिम सम्बन्धित निकायमा निर्वाचन तथा त्यसबाट बन्ने कार्यसमितिको वैधानिकतामाथि कानुनी चुनौती दिने प्रक्रिया अगाडि बढाइने जानकारीसमेत गराउन चाहन्छौं ।’

असन्तुष्ट उपभोक्ताहरुले संस्थाको विधान संशोधन तत्काल लिपिबद्ध गरी लागू गर्नुपर्ने, एक धारा एक प्रतिनिधिलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, एउटै घरबाट पति वा पत्नीमध्ये कुनै एक प्रतिनिधि वा उम्मेदवार बन्न सक्ने व्यवस्था गर्नुपर्ने, अध्यक्ष पदमा उम्मेदवार बन्न कम्तीमा एक कार्यकाल समिति सदस्य वा पदाधिकारीको अनुभव हुनुपर्ने, अन्य सबै पदहरूमा सबै प्रतिनिधिहरूलाई उम्मेदवार बन्न पाउने व्यवस्था गर्नुपर्ने, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

यसैगरि निर्वाचन प्रक्रिया तत्काल स्थगित गरी सर्वपक्षीय सहमतिका आधारमा अधिवेशन सम्पन्न गर्नुपर्ने, उपभोक्ताहरूको सहमतिअनुसार पारित गरिएको विधान संशोधनलाई विधिसम्मत रूपमा लिपिबद्ध गर्नुपर्ने, संशोधित विधान लागू गरी सोहीअनुसार नयाँ निर्वाचन कार्यतालिका प्रकाशन गरेर मात्र निर्वाचन गर्नुपर्ने, सम्पूर्ण उपभोक्ताको समान सहभागिता, पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्नुपर्ने र जिल्ला प्रशासन कार्यालय, तनहुँको मिति २०८३/०३/१२ गतेको पत्रको भावना र निर्देशनअनुसार आवश्यक समन्वय र कार्यान्वयन गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा अपाङ्गता भएका व्यक्तिकालागि १० दिने च्याउ खेती तालिम सुरु, १५ जना सहभागी

देवघाट । असार १६ देवघाटमा अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगार, आर्थिक आत्मनिर्भरता तथा उद्यमशीलतातर्फ उन्मुख गराउने