तनहुँ । साउन ४
तनहुँ प्रहरीले प्रतिबन्धित लागुपदार्थ सहित दुई जनलाई पक्राउ गरेको छ । पृथ्वी राजमार्गका छुट्टाछुट्टै स्थानमा गरिएको सवारी तथा पैदल यात्री चेकिङका क्रममा प्रहरीले प्रतिबन्धित लागूपदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।



जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साउन २ गते व्यास नगरपालिका–४ स्थित पृथ्वी राजमार्गमा पक्राउ परेका व्यास–४ का एक पुरुषको साथबाट १५ एम्पुल लागूपदार्थ बरामद गरिएको छ । जसमा बुफोनोफिन ५ एम्पुल, डाइजोपाम ५ एम्पुल, फेनारागन ५ एम्पुल रहेका छन् ।
त्यसैगरी, अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको टोलीले आँबुखैरेनी गाउँपालिका–४ बेनीटारस्थित राजमार्गमा काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको माइक्रो बसमा सवार लमजुङ बेशीशहर नगरपालिका–१ का एक पुरुषलाई पक्राउ गरेको हो । निजको झोलाभित्र लुकाई राखिएको १०० ट्याब्लेट ट्रामाडोल समेत बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत तनहुँबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।












