आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ८

उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन बनाउने उद्देश्यका साथ आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठान (एकदेव आले पुस्तकालय) बीच संस्थागत सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार बिहान व्यास नगरपालिका–१, विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा आयोजित एक कार्यक्रमका बीच दुई संस्थाबीच उक्त सम्झौता भएको हो । नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षा, अनुसन्धान, भाषा, साहित्य, संस्कृति संरक्षण, सूचना तथा ज्ञानमा पहुँच र दिगो विकासका सिद्धान्तलाई आत्मसात् गर्दै यो समझदारी गरिएको हो ।

सम्झौता अनुसार दुवै संस्थाले आगामी दिनमा देहायका क्षेत्रहरूमा संयुक्त रूपमा काम गर्नेछन् । त्यस्तै दुवै संस्थाका स्रोत, साधन र पुस्तकालय सेवाको आदानप्रदान एवं साझा उपयोग गर्ने, विद्यार्थी तथा सर्वसाधारणमा पठन संस्कृतिको विकास र साक्षरता अभिवृद्धि गर्ने, ज्ञान तथा सांस्कृतिक सम्पदाको जगेर्ना गर्दै तनहुँ जिल्लाको स्थानीय भाषा र साहित्य सम्वर्धनका परियोजनाहरू सञ्चालन गर्ने तथा समावेशी पुस्तकालय सेवा सञ्चालन गर्ने र अनुसन्धान प्रतिवेदन तथा डिजिटल सामग्रीहरूको संयुक्त प्रकाशन गर्ने सम्झौता भएको छ ।

समझदारीपत्रमा क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख महाप्रसाद हड्खले र प्रतिष्ठानका तर्फबाट अध्यक्ष मनुमाया श्रेष्ठले हस्ताक्षर गरेका छन् । हस्ताक्षरपश्चात् क्याम्पस सञ्चालक समितिका अध्यक्ष केश बहादुर सुनार र प्रतिष्ठानकी अध्यक्ष श्रेष्ठले समझदारीपत्र आदानप्रदान गरेका थिए ।

कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्की, सहायक क्याम्पस प्रमुखहरू डा.रामकुमार अधिकारी, विश्वेश्वर तिमल्सेना र बिमल गिरी, विज्ञान विभाग प्रमुख सागर न्यौपाने, प्रशासकीय अधिकृत वसन्ती थापा आले मगर, प्रतिष्ठानका महासचिव नेत्र रानाभाट र सचिव शिव सदाशंकरको उपस्थिति रहेको थियो ।

हस्ताक्षर भएकै मितिदेखि लागू हुने यो सम्झौता ५ वर्षसम्म कायम रहनेछ । यस सहकार्यले तनहुँ जिल्लाको समग्र शैक्षिक, अनुसन्धानमूलक तथा सांस्कृतिक वातावरण निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा राजनीतिशास्त्र र दलको भूमिकासम्बन्धी प्राज्ञिक गोष्ठी हुने

तनहुँ । साउन ७ तनहुँको व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा ‘राजनीतिशास्त्र र दलको भूमिका’

देवघाटको महेश सन्यास आश्रममा ‘गुरुपूर्णिमा एवं नवौँ गुरुनिर्वाण महोत्सव २०८३’ हुने

देवघाट । साउन ७ पवित्र तीर्थस्थल देवघाटधामस्थित महेश सन्यास आश्रमको आयोजनामा आगामी साउन ९ गतेदेखि

तनहुँमा भूमिहीन र दलितलाई साउन अन्तिमदेखि लालपुर्जा बाँडिने, भूमि प्रशासन चुस्त बनाउन सांसद न्यौपानेको पहल

तनहुँ । साउन ७ तनहुँका भूमिहीन सुकुम्बासी र दलित परिवारले आउँदो साउन अन्तिम सातादेखि जग्गाको