काठमाडौं । साउन २८
चरित्र हत्या र गोपनीयता भंग हुनेगरी समाचार प्रकाशन गरेको आरोपमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले तीन थुनामा पठाउने आदेश दिएको छ ।



जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा भएको बहसपछि न्यायाधीश लुइँटेलले अनुसन्धानका लागि तीन दिन थुनामा पठाउन आदेश दिएका हुन् । प्रहरीले बिहीबार अपरान्ह ४ बजेपछि म्याद थपका लागि श्रेष्ठलाई अदालतमा उपस्थित गराएको थियो । प्रहरीले अनुसन्धानका लागि १० दिन थुनामा राख्न माग गरेको थियो ।
जनआस्थाका प्रधानसम्पादकसमेत रहेका क्षेष्ठका तर्फबाट नेपाल बारका अध्यक्ष विजय मिश्र, वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, सम्भु थापा लगायतले बहस गरेका थिए । दुवै पक्षको बहसपछि थुनामा पठाउने आदेश आएको हो । उनीहरुले श्रेष्ठले पहिल्यै सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिर आफ्नो मिडियामा छापेकोले अभियोग पुष्टि नहुने भन्दै रिहा गरेर अनुसन्धान गर्न माग गरेका थिए ।
श्रेष्ठलाई बुधबार साँझ प्रहरीले ललितपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । बिहीबार बिहान उनको पत्रिका जनआस्थाको कार्यालयबाट र श्रेष्ठको निवासबाट प्रहरीले कम्प्यूटर, ल्यापटप लगायतका महत्वपूर्ण सामग्रीहरु छापा मारी नियन्त्रणमा लिएको थियो ।
उनी पक्राउ परेसँगै देशभरका पत्रकार र पत्रकारितासँग सम्बन्धित संघ संस्थाहरुले सरकारको यो कदमको चर्को विरोध गरेका छन् । साथै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोख्रेल, नेपाली काँग्रेसका नेता शेखर कोईराला लगायत विभिन्न दलका नेताहरुलेसमेत यसको विरोध जनाएका छन् ।
पत्रकार महासंघको अगुवाईमा बुधबार राति र बिहीबार दिनभर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर कार्यालयअगाडि श्रेष्ठलाई पक्राउ गरिएको विरोधमा धर्नासमेत दिएका थिए ।












