तनहुँ । भदौ ११
भोटेकोसी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूका लागि तनहुँका स्थानीय तहहरुले आर्थिक सहयोगको घोषणा गरेका छन् ।



तनहुँका शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका तथा म्याग्दे र ऋषिङ गाउँपालिकाले विहिबार आर्थिक सहयोगको घोषणा गरेका हुन् । यस राष्ट्रिय विपदको समयमा प्रभावित व्यक्तिहरुको उद्धार, राहत तथा पुनस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले शुक्लागण्डकी नगरपालिकाले ७ लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । साथै नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुका तर्फबाट पछि निर्णय भए वमोजिम थप सहयोग उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

यसैगरि व्यास नगरपालिकाले विपद व्यवस्थापन कोषबाट ५ लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ । नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुका तर्फबाट पछि निर्णय भए वमोजिम थप सहयोग उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

यसैगरि म्याग्दे गाउँपालिकाले बाढीबाट प्रभावित भएका नागरिकहरूका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको विहिबार बसेको कार्यपालिका बैठकको निर्णय अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । यसका साथै गाउँपालिका कार्यालयमा कार्यरत सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूबाट आ–आफ्नो पाँच दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत गाउँपालिका भित्रका सम्पूर्ण नागरिकहरूलाई समेत आफ्नो सामथ्र्य अनुसार बाढी–पहिरो पीडितको राहतका लागि सहयोग गर्न अपिल गरिएको छ ।
यसैगरि ऋषिङ गाउँपालिकाले बाढीबाट प्रभावित भएका नागरिकहरूका लागि प्रधानमन्त्री राहत कोषमा ५ लाख ३८ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बाढीका कारण देश राष्ट्रिय विपत्तिमा परिरहेको अवस्थामा ऋषिङ गाउँपालिकाले बाढीपीडितका लागि गाउँपालिकाको जनप्रतिनिधि कल्याण कोषबाट १ लाख रुपैयाँ र गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीबाट जनही १ हजार रुपैयाँका दरले संकलन गरिएको ४ लाख ३८ हजार रुपैयाँ गरी जम्मा ५ लाख ३८ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए ।












