तनहुँ । भदौ २०
नेकपा (एमाले) भिमाद नगर कमिटीको आयोजनामा सञ्चालित ‘मिसन पार्टी जागरण अभियान–२०८३’ अन्तर्गत नगर कमिटिको बैठक शनिबार विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।



अभियानका क्रममा पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र जनमुखी बनाउने, नेता–कार्यकर्ता तथा जनताबीचको सम्बन्ध विस्तार गर्ने र आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो । कार्यक्रमको सुरुवातमा हालै भोटेकोसी नदीमा आएको बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।
नगर कमिटी अध्यक्ष इमानबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल, प्रदेश सल्लाहाकार नारायण खनाल लगायत जिल्ला कमिटिका सदस्यहरुको विशेष उपस्थिती रहेको थियो ।
बैठकमा भिमाद कार्यक्षेत्र भएका जिल्ला कमिटी सदस्यहरु, नगर कमिटीका पदाधिकारी तथा सदस्यहरु, वडा कमिटी अध्यक्षहरु, जनप्रतिनिधि, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
अभियानका क्रममा भिमाद नगर क्षेत्रमा पार्टीको वर्तमान अवस्था, संगठनको प्रभावकारिता, कार्यकर्ता परिचालन, जनतासँगको सम्बन्ध विस्तार तथा आगामी राजनीतिक गतिविधिका विषयमा व्यापक छलफल गरिएको नगर कमिटिका अध्यक्ष थापाले बताए ।
बैठकले संगठनलाई थप चलायमान र व्यवस्थित बनाउने, जनताका समस्या तथा सवाललाई प्राथमिकतामा राखेर पार्टी गतिविधि सञ्चालन गर्ने, वडा तहसम्म संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने तथा नेता–कार्यकर्ताबीच समन्वय र सहकार्य बढाउने निर्णय गरेको जनाइएको छ । त्यसैगरी, अभियानलाई निरन्तरता दिँदै नगरका विभिन्न क्षेत्रमा प्रत्यक्ष जनसम्पर्क, कार्यकर्ता भेटघाट तथा संगठन सुदृढीकरणका कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ ।
कार्यक्रममा बोल्दै केन्द्रीय सल्लाहाकार एवं भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जनताको चाहनाअनुसार काम गर्न आफूहरू पछि नपरेको बताउँदै भिमाद नगर क्षेत्रमा पार्टी संगठनलाई थप व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउँदै अभियानलाई निरन्तरता दिइने बताए । नेता–कार्यकर्ताबीचको एकता, सहकार्य र सक्रियताले संगठनलाई थप बलियो बनाउने सुवेदीले बताए ।
जिल्ला कमिटिका अध्यक्ष हरिराज कँडेलले पार्टीलाई जनतासँग अझ नजिक जोड्दै संगठनलाई चलायमान बनाउन ‘मिसन पार्टी जागरण अभियान’ ले महत्वपूर्ण भूमिका खेल्ने बताए । पार्टीका नीति, विचार र कार्यक्रमलाई जनस्तरसम्म पु¥याउन नेता तथा कार्यकर्ताहरू सक्रिय भएर लाग्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सहभागीहरूले संगठन विस्तारसँगै जनताका दैनिक समस्या, विकास निर्माण, सेवा प्रवाह तथा स्थानीय सवाललाई प्राथमिकतामा राखेर पार्टीका गतिविधि अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
एमाले भिमाद नगर कमिटीले अभियानमार्फत पार्टी संगठनलाई वडा तहसम्म थप सक्रिय बनाउँदै जनतासँगको प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने जनाएको छ । अभियानका क्रममा गरिएका निर्णयलाई कार्यान्वयन गर्दै आगामी दिनमा संगठनात्मक तथा जनमुखी गतिविधिलाई थप तीव्रता दिइने बताइएको छ ।












