देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

Devghat Online

शेयर गरौ

देवघाट । भदौ २१

देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको विकास, व्यवस्थापन तथा दीर्घकालीन सञ्चालनका विषयमा सरोकारवालाहरूबीच बृहत् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरूले कलेजलाई कुनै व्यक्ति, समूह वा राजनीतिक दलको आँखाबाट नहेरी सिङ्गो देवघाटको साझा सम्पत्तिका रूपमा संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले कलेजको सहयोगका लागि गाउँपालिकाले साढे नौ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । कलेज स्थापनाको माग गर्नेहरू नै विकासका छलफलमा अनुपस्थित भएकोमा असन्तुष्टि जनाउँदै अध्यक्ष थापाले तत्काल व्यवस्थापन समिति परिवर्तन गर्नुभन्दा कलेजलाई स्थापित र सक्षम बनाउनेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष भुवनसिं गुरुङले कलेजको आर्थिक स्रोतका लागि सदस्यता प्रणाली लागू गर्न सुझाव दिँदै आफ्ना आमाबुबाको स्मृतिमा तीनवटा पङ्खा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै, वडा नं. ५ का अध्यक्ष पूर्णबहादुर कुँवरले पारदर्शितामा जोड दिँदै शिक्षामा गरिएको लगानीले दीर्घकालीन प्रतिफल दिने धारणा राखे ।

कलेजका प्राचार्य श्याम एस.शर्मा दवाडीले कक्षा १२ पछि उच्च शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यता हटाउन र न्यून आय भएका विद्यार्थीलाई आफ्नै गाउँठाउँमा स्नातक तहको पठनपाठन गराउन कलेज स्थापना गरिएको स्पष्ट पारे ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष डा. सुरेन्द्रप्रसाद श्रेष्ठले संघर्षपूर्ण यात्रा स्मरण गर्दै दोस्रो वर्षको कक्षा आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । हाल कलेजमा जम्मा ६ जना विद्यार्थी रहेको र शिक्षकहरूलाई पारिश्रमिक दिनसमेत धौ–धौ परिरहेकाले सिङ्गो देवघाट समाजले यसको अभिभावकत्व लिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा स्थानीय बुद्धिजिवी चन्द्रदेव तिवारीले आफ्नी ४५ वर्षीया श्रीमतीलाई समेत अध्ययनका लागि कलेज पठाउने घोषणा गर्दै शिक्षामा उमेरको सीमा नहुने सन्देश दिए । व्यवस्थापन समितिका उपाध्यक्ष केशवचन्द्र न्यौपाने, पूर्ववडा अध्यक्ष यालबहादुर गुरुङ, उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठ, रास्वपा प्रतिनिधि, देवपुर टोल विकास संस्थाका अध्यक्ष सुकलाल गुरुङ, कलेजका प्रतिनिधि सुमन आचार्य, युवा प्रतिनिधि रघु मल्ल, समाजसेवी कुलचन्द्र न्यौपाने तथा त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि मोहनप्रसाद सापकोटा लगायतले कलेजलाई दलीय राजनीतिभन्दा माथि उठेर आर्थिक र भौतिक सहयोग गर्न प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको