काठमाडौं । भदौ २१
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ उद्धारमा फर्किएका छन् । रसुवाको चिलिमे जलविद्युत आयोजनामा ६ जना सुरुङभित्र फँसेको सूचना आएको भन्दै उनी त्यतातर्फ लागेका हुन् ।



सुरुङविज्ञसमेत रहेका सांसद न्यौपाने रसुवा बाढीबाट प्रभावित त्रिशुली ३ ए को सुरुङमा सुरुदेखि उद्धारमा खटिएका थिए । तर, रास्वपाले उद्धारमा अवरोध हुने गरी सुरुङमा नबस्न सांसदहरुलाई निर्देशन दिएपछि उनी र अर्का सांसद सागर ढकाल काठमाडौं फर्किए ।

तर आज रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीले सांसदद्वय न्यौपाने र ढकाललाई लक्षित गर्दै कुनै पनि निर्णय नगरेको स्पष्टिकरण दिएका छन् । यसले न्यौपानेलाई पुन सुरुङ उद्धारमा संलग्न हुने बाटो खुलेको हो । यसअघि उनले पार्टीले निर्णय फिर्ता नलिएमा संसद पदबाटै राजीनामा दिने चेतावनी दिएका थिए ।
आइतबार एक स्टाटस लेख्दै न्यौपानेले चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भएको बताएका छन् । उनले लेखेका छन्, ‘उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जाँदैछु ।’












