देवघाट । भदौ २४
नवलपुरको गैंडाकोट नपा–३ हर्दी देवघाट निवासी ब्लड क्यान्सर पीडित २५ बर्षीया सारा जार्गा मगरको जिवन बचाउन देवघाटका युवाहरुले सन्चालन गरेको ‘सारा बचाउ अभियान’ अन्तर्गत हालसम्म १७ लाख ३० हजार रुपैयाँ संकलन भएको छ । ‘सारा बचाउ अभियान’ का सन्चालक देवघाट–५ निवासी विष्णु पाण्डे (सफल शर्मा) ले हालसम्म १७ लाख ३० हजार रुपैयाँ संकलन भएको जानकारी दिएका छन् ।



शर्माले सामाजिक सन्जाल मार्फत उक्त रकमबारे जानकारी दिँदै सारा जार्गा मगरको जिवन बचाउन थप सहयोगको अपिल समेत गरेका छन् । ब्लड क्यान्सरबाट पीडित भएकी साराको जीवन रक्षाका लागि सुरु गरिएको यस अभियानमा जोडिएर आर्थिक, सामाजिक तथा प्रचार–प्रसारमार्फत सहयोग पु¥याउने सम्पूर्ण मनकारी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई अभियानकर्ताहरूले हृदयदेखि नै धन्यवाद ज्ञापन गरेका छन् । हालसम्म उल्लेख्य रकम संकलन भए तापनि उनको उपचार प्रक्रिया पूर्ण गर्न अझै ठूलो रकमको आवश्यकता रहेको भन्दै अभियन्ता शर्माले भने ‘सारा नानीको मुस्कान फर्काउन र उनको जीवन बचाउनकालागि थप आर्थिक सहयोगको खाँचो रहेको छ ।’
सारको हाल भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उनको उपचार भइरहेको छ । चिकित्सकहरूका अनुसार क्यान्सरलाई पूर्ण रूपमा निको पार्न करिब ८० लाख रुपैयाँ खर्च हुनेछ । कमजोर आर्थिक अवस्थाका कारण यति ठूलो रकम जुटाउन लोकबहादुरको परिवारलाई असम्भव भएपछि परिवारले देश–विदेशमा रहनुभएका सम्पूर्ण दयालु मनहरू, समाजसेवी तथा सहयोगी हातहरूसँग जीवन रक्षाका लागि आर्थिक सहयोगको अपिल गरेको छ ।
साराको उपचारकोलागि सहयोग गर्न चाहनेहरूले लक्ष्मी सनराइज बैंकमा साराकी दिदी सुमित्रा जार्गा मगरको नाउँमा रहेको खाता नम्बर २१४१४३९५०२०२३००१ मा रकम जम्मा गर्न सकिने शर्माले जानकारी दिए । त्यस्तै सम्पर्क तथा सहयोगकालागि मोवाइल नम्बर ९८०९२७६०६६ मा समेत सम्पर्क गर्न सकिने छ ।
आफ्नो हातले कुनै जीवन बचाउन सक्नु नै ठूलो पुण्य हो भन्दै अभियानकर्ताहरूले सारा नानीको उपचारका लागि सक्दो सहयोग गरी एउटा अमूल्य जीवन बचाउन सबैमा हार्दिक अपिल गरेका छन् । आफुलाई जानकारीमा आएको सहयोग रकम सबै आफ्नो फेसबुक पोष्टबाट सार्वजानिक गर्दै आएको शर्माले जानकारी दिए ।












