गरिखाने वर्गमाथि महङ्गीको बज्रपातः समृद्धीको नारा संघर्षरत नेपाली जिवन

Devghat Online

शेयर गरौ

       विमला भट्टराई
     भरतपुर–१२, चितवन

विषय प्रवेशः

नेपाललाई प्राकृतिक सम्पदाले सम्पन्न जलश्रोतको धनी, सास्कृतिक बिबिधताले सुशोभित र विश्व कै सर्वाेच्च शिखर सगरमाथाको देशका रूपमा चिनिन्छ । यस्तो अनुपम, सौन्दर्य र अथाह सम्भावना वोकेको राष्ट्रका नागरिकले सुख, समृद्ध र सम्मानपुर्ण जीवन बिताउनुपर्ने हो तर विडम्बना आज नेपाली समाजको ठूलो हिस्सा आफ्नो दैनिक जीवन धान्नै संघर्ष गरिरहेको छ । बजारमा दिन प्रतिदिन वढिरहेको महंगीले विशेष गरी श्रम गरेर जिवन चलाउने, साना व्यवसाय सञ्चालन गर्ने, किसान, ज्यालादारी मजदुर तथा सिमित आम्दानी भएका परिवारको ढाँड नै सेकिदिएको छ । समृद्ध नेपाल निर्माणको सपना देखाईरहँदा लाखौं नागरिकको भान्सामा चुलो बाल्न समेत कठिन हुने अवस्था सृजना हुनु गम्भिर चिन्ताको विषय हो ।

१२ औं राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले नेपालको सामाजिक र आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गरेको छ । जस अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । यस मध्ये १ करोड ४९ लाख ११ हजार २७ जना महिला र १ करोड ४२ लाख ५३ हजार ५५१ जना पुरुष रहेका छन् । जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहेको छ । कुल जनसंख्या मध्ये ६६.०८ प्रतिशत शहरी क्षेत्रमा बसोवास गर्छन् भने ३३.८२ प्रतिशत ग्रामिण क्षेत्रमा बसोवास गर्छन् । नेपालको जनघनत्व प्रतिवर्ग किलोमिटर १९८ जना रहेको छ । यस्तै २१ लाख ६९ हजार ४७८ जना नेपाली अध्ययन तथा रोजगारीका लागी विदेश वा बिभिन्न देशमा रहेका छन् ।

सबैभन्दा चिन्ताजनक पक्ष भनेको कुल जनसंख्याको २३.८ प्रतिशत नागरिक अझै पनि गरिवीको रेखामुनी जीवनयापन गरीरहेका छन् ।  यी तथ्यांक आफैमा देशको आर्थिक यथार्थ बुझाउन पर्याप्त छन् । महंगी केवल आर्थिक सुचाकको विषय होइन यो प्रत्यक्ष रूपमा आम नागरिकको जीवन सँग गाँसिएको विषय हो । जव खाद्यन्न दाल, चामल, तरकारी पेट्रोलियम पदार्थ, औषधि, शिक्षा र स्वास्थ्य सेवाको मुल्य लगातार वढ्छ, त्यसको असर सवैभन्दा पहिले गरिव र निम्न आय भएको परिवारमा पर्छ । उनीहरुको आम्दानी बढ्दैन, तर खर्च दिनानुदिन बढ्दै जान्छ फलस्वरूप परिवारको पोषण, बालबालिकाको शिक्षा, स्वास्थ्य  उपचार र भविष्यको योजनाहरु क्रमशः कमजोर बन्दैै जान्छ । आर्थिक अभावले मानिसलाई केवल गरिब मात्र वनाउँदैन, उसको आत्मविश्वास, सामाजिक प्रतिष्ठा र मानसिक स्वास्थ्य समेत प्रभावित वनाउँछ ।

महंगी बढ्नुका पछाडी विश्वव्यापी आर्थिक परिस्थिति, इन्धनको मूल्य, आयातमा निर्भर अर्थतन्त्र, उत्पादनमा कमी, कमजोर बजार व्यवस्थापन तथा नितिगत अस्थिरता जस्ता अनेक कारणको हुन सक्छन् । तर यिनको समाधान खोज्नु राज्यको दायित्व हो । दुर्भाग्यवश हाम्रो वजारमा प्रभावकारी अनुगमनको अभाव देखिन्छ । कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, बस्तु लुकाएर मुल्य बढाउने तथा विचौलियाको चलखेलले बजारलाई विकृत बनाएको छ । यसवाट उत्पादन र उपभोक्ता दुवै मारमा परेका छन ।

नेपाल कृषि प्रधान भनिएता पनि किसानको अवस्था अभै सन्तोषजनक छैन । खेती गर्ने समयमा किसानले मल, बिउ तथा आवश्यक कृषि सामाग्री सहज रुपमा पाइदैन । कतिपय स्थानमा गुणस्तरहिन बीउ विजन विक्रि भएका घटना सार्वजानिक भएका छन् । समयमै मल उपलब्ध नहुँदा खेती ढिलो हुने, उत्पादनमा घट्ने तथा लगानी डुब्ने अवस्था दोहोरिएको छ । किसानले मेहनेत गरेर उत्पादन गरेको वस्तुको मुल्य पाउँदैनन् तर त्यही बस्तु बजारमा पुग्दा उपभोक्ताले महंगो मुल्यमा खरिद गर्न बाध्य हुन्छन् । यसको मुख्य कारण उत्पादन र उपभोक्ता विचको लामो विचौलीया सृङखला हो । किसानलाई न्युन मुल्य र उपभोक्तालाई उच्च मुल्य, यो दोहरो अन्याय अन्त्य गर्न नसक्नु राज्य संयन्त्रको कमजोरी हो ।

दैनिक उपभोग्य वस्तुमा भइरहेको मुल्यवृद्धिको अर्को गम्भिर असर साना व्यवसायी माथी परेको छ । साना पसल, घरेलु उद्योग तथा स्वरोजगारमा आधारित व्यवसाय सन्चालन गर्न लागत बढेको छ । तर उपभोक्ताको क्रयशक्ती घटेकोले विक्री बढ्न सकेको छैन । यसले हजारौं साना बन्द हुने अवस्थामा पुगेका छन । अर्कोतर्फ ठुला व्यापारी र आर्थिक रूपमा बलिया समुहहरु भने बजारमा आफ्नो प्रभाव विस्तार गर्न सफल भइरहेका छन् । यसले आर्थिक असमानतालाई अझ बढाएको छ ।

देशको आर्थिक अवस्थालाई कमजोर बनाउने अर्को प्रमुख कारण यूवा जनशक्तिको निरन्तर पलायन हो । जनगणनाले देखाए झैं २१ लाख भन्दा बढि नेपाली विदेशमा रहेका छन । उनीहरु मध्ये ठूलो हिस्सा देशभित्र पर्याप्त रोजगारीको अवसर नपाएर विदेशीएको हो । उच्च शिक्षा हासिल गरेका दक्ष युवा देखि सामान्य श्रमिक समेत आफ्नो श्रम र सीप विदेशी भुमिमा खर्च गर्न बाध्य छन् उनीहकले पठारटको विप्रेशणले तत्काल अर्थतन्त्र धाने पनि दीर्घकालिन रुपमा यसले देशको उत्पादन क्षमता र मानवश्रोत विकासमा नकारात्मक असर परिरहेको छ । गाउँमा बृद्धबृद्धा र बालबालिका मात्र रहने, परिवार विखण्डित हुने तथा सामाजिक सम्बन्ध कमजोर बन्ने जस्ता समस्या पनि यसैसँग जोडिएका छन् ।

राजनितिक नेतृत्वको प्राथमिकता पनि नागरिकको अपेक्षा अनुसार परिणाममुखी देखिन सकेको छैन । सरकार परिवर्तन, सत्ता समिकरण र राजनितिक विवादमा उर्जा खर्च भइरहँदा मुल्य नियन्त्रण, उत्पादन वृद्धि, रोजगारी सिर्जना र सुशासन जस्ता आधारभूत विषय ओझेलमा परेका छन् । जनताले महसुस गर्ने परिवर्तन निति तथा दस्तावेजमा होइन दैनिक जीवनमा देखिनु पर्दछ ।

महंगी नियन्त्रणका लागी अस्थायी राहात भन्दा दिर्घकालिन आर्थिक सुधार आवश्यक छ । स्वदेशी उत्पादन वृद्धि, कृषि आधुनिकिरण, उद्योग प्रवद्र्धन, बजारको प्रभावकारी अनुगमन, उपभोक्ता अधिकारको प्रभावकारी संरक्षण, भ्रष्टाचार नियन्त्रण तथा सार्वजानिक खर्चमा पारदर्शिता कायम गर्न सकिएमात्र मुल्यवृद्धिलाई नियन्त्रण गर्न सकिन्छ । साथै वैदेशिक रोजगारीलाई बाध्यता होइन, विकल्प बनाउने वातावरण सिर्जना गर्नु आजको राष्ट्रिय आवश्यकता हो ।

अर्थतन्त्रको केन्द्रमा नागरिक हुनु पर्दछ केवल तथ्यांक होइन । जब श्रमको उचित मुल्य प्राप्त हुन्छ, किसानले आफ्नो उत्पादनको सम्मानजनक मुल्य पाउँछ, उपभोक्ताले गुणस्तरिय वस्तु उचित मुल्यमा खरिद गर्न सक्छ र युवाले आफ्नै देशमा भविष्य देख्न थाल्छ तवमात्र सम्बृद्धिको आधार बलियो हुन्छ । अन्यथा विकासका सवै सुचाङ्क आम नागरिकको पीडा सामु अर्थहिन बन्न पुग्छन् ।

निश्कर्षः

महंगी आज नेपालको आर्थिक मात्र होइन सामाजिक, राजनीतिक र नैतिक चुनौतिका रूपमा उभिएको छ । यसको सवैभन्दा ठुलो भार गरिखाने वर्ग, किसान, मजदुर, साना व्यवसायी तथा सिमित आम्दानी भएका परिवारले बोकेका छन् । प्राकृतिक श्रोत, उर्बर भुमी र सक्षम युवा जनशक्ति हुँदा हुँदै पनि नागरिकले अभाव, बेरोजगारी र मुल्यबृद्धिसँग निरन्तर संघर्ष गर्नपर्नु दुखद यर्थार्थ हो । अव विकासका आकर्षक नारा भन्दा पनि परिणामुखी कार्यान्वयनको आवश्यकता छ । उत्पादन बृद्धि, शुसासन, प्रभावकारी बजार व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सृजना र नागरिकमैत्री आर्थिक नीतिलाई व्यवहारमा उर्तान सकिएमात्र महंगीको दुश्चक्र तोड्न सकिन्छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा त्यतीबेला मात्र सार्थक हुन्छ, जब देशको विकासको प्रतिफल सबैभन्दा पहिले गरिखाने वर्गको जिवनमा देखिनेछ र प्रत्येक नागरिकले सम्मानपुर्वक वाँच्न सक्ने आर्थिक वातावरण निर्माण हुनेछ ।

(भट्टराई नेकपा एमाले चितवन जिल्ला कमिटि सदस्य तथा गैरसरकारी संस्था महासंघ चितवन जिल्ला शाखाको सहसचिव हुनुहुन्छ ।)

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा