तनहुँ । मंसिर ७
तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन करिब ३५ किलोमिटर लामो दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको भौतिक प्रगति ८३ दशमलव ५ प्रतिशत पुगेको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत भारतको केईसी इन्टरनेशनल लिमिटेडले निर्माण गरिरहेको ३४.७० किलोमिटर लामो यस प्रसारण लाइनका कुल ९४ वटा टावरमध्ये हालसम्म ८३ वटाको जग निर्माण र ८१ वटा टावर जडान कार्य सम्पन्न भइसकेको छ । साथै, करिब २.२ किलोमिटर तार तान्ने काम समेत पूरा भएको आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार वन तथा भू–संरक्षण विभागसँग भएको सम्झौताअनुसार अब भरतपुर महानगरपालिकाका विभिन्न सामुदायिक वन क्षेत्रका एक हजार २६३ वटा रुख कटान गरिने भएको छ । जसअन्तर्गत भरतपुर महानगरपालिका–१ स्थित व्यवस्थित वन (सतनचुली संरक्षित क्षेत्र) तथा सतनचुली सामुदायिक वन र वडा नं. २९ अन्तर्गतका अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका रुखहरू काटिनेछन् ।
कटान गरिएका रुखहरू तोकिएको समयभित्र सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह र सब–डिभिजन वन कार्यालयले सुरक्षित ठहर गरेको स्थानमा घाटगद्दी गर्नुपर्ने व्यवस्था गरिएको प्रमुख भण्डारीले जानकारी दिए ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ मंसिर २० गतेको निर्णयअनुसार प्रसारण लाइन निर्माणका लागि चितवनमा २५.२७ हेक्टर र तनहुँमा ६७.४६ हेक्टर गरी कुल ९२.७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न र त्यस क्षेत्रमा रहेका ९ हजार १२७ वटा रुख हटाउन स्वीकृति प्रदान गरिएको थियो । सोही निर्णयका आधारमा २०८२ पुस ३० गते आयोजना र वन तथा भू–संरक्षण विभागबीच रुख कटान तथा वन क्षेत्र प्रयोगसम्बन्धी सम्झौता भएको थियो ।












