स्थानीय तहको निर्वाचनमा जित सुनिश्चित गर्न पार्टी सदस्यबाटै उम्मेदवार छनोट गर्नुपर्ने एमाले केन्द्रीय सदस्य न्यौपानेको सुझाव

Devghat Online

शेयर गरौ

काठमाडौं । मंसिर ३

नेकपा (एमाले) की केन्द्रीय सदस्य भगवती न्यौपानेले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न स्थानीय स्तरका पार्टी सदस्यहरूबाटै उम्मेदवार छनोट गर्ने प्रणाली लागू गर्नुपर्ने सुझाव दिएकी छिन् ।

काठमाडौंमा बुधबारदेखी आयोजित पार्टीको राष्ट्रिय भेलामा ‘स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजय सुनिश्चित गराउन के–के गर्नुपर्ला ?’ भनी सोधिएको प्रश्नमा लिखित धारणा राख्दै न्यौपाने उम्मेदवार छनोट प्रक्रियामा आमूल सुधारको खाँचो औँल्याएकी हुन् ।

न्यौपानेले पालिका प्रमुख तथा उपप्रमुखको छनोट सम्बन्धित पालिकाका पार्टी सदस्यहरूबाटै गरिनुपर्छ भने वडाका उम्मेदवारहरू वडाकै पार्टी सदस्यहरूले छनोट गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव दिइन् । साथै उम्मेदवार छनोट गर्दा जनमैत्री, स्वच्छ एवम् निष्कलंकित छवि भएका, सक्रिय तथा सक्षम व्यक्तिलाई प्राथमिकता दिनुपर्ने न्यौपानेको जोड छ ।

लिखित सुझावमार्फत नेत्री न्यौपानेले भदौ २३ को जेनजी आन्दोलनमा भएको गोलीकाण्ड तथा भदौ २४ गते देशका संरचना र नेताहरूका घर जलाउने क्रममा युवाहरूको मृत्यु भएको घटनाबारे पार्टीप्रति फैलाइएको भ्रम चिर्नुपर्ने बताइन् । उक्त घटना घटाउन संलग्न वर्तमान सत्तापक्षीय दल र सत्तामा रहेका व्यक्तिहरूको यथार्थ विवरण आम नागरिकमाझ पु¥याएर प्रष्ट पार्नुपर्ने न्यौपानेको धारणा छ ।

पार्टी संगठन सुदृढीकरणका सन्दर्भमा न्यौपानेले पार्टीभित्र रहेको गुटबन्दी, पक्षपातपूर्ण व्यवहार र आपसी मतभेदको अन्त्य गरिनुपर्ने उल्लेख गरेकी छिन् । विगतमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको रचनात्मक ढङ्गले प्रचारप्रसार गर्दै जनतासँग घनिष्ट सम्बन्ध स्थापित गर्नुपर्नेमा उनले जोड दिएकी छिन् ।

यस्तै, युवा, महिला तथा उत्पीडित समुदायमा पार्टीको पहुँच व्यापक बनाउनुपर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूसँग घनिभूत संवाद गरी पार्टीप्रति सकारात्मक बनाउनुपर्ने र डिजिटल प्रचारप्रसारलाई व्यापकता दिनुपर्ने सुझाव उनले दिएकी छिन् । साथै, वर्तमान सरकारका कमजोरी तथा जनहित र राष्ट्रियताविरोधी कदमहरूको भण्डाफोर गर्दै जनतामाझ लैजानुपर्ने न्यौपानेको लिखित सुझावमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू