देवघाटका २१ टोल विकास संस्था एकजुट, १५ बुँदे मागसहित गाउँपालिकालाई ज्ञापनपत्र

Devghat Online

शेयर गरौ

देवघाट । मंसिर ८

देवघाट गाउँपालिका वडा नम्बर ५ अन्तर्गतका २१ वटा टोल विकास संस्थाले स्थानीय विकास, पूर्वाधार निर्माण तथा टोलस्तरमा देखिएका समस्या समाधानका लागि १५ बुँदे मागसहित गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।

सुन्दरशील टोल विकास संस्थाको आयोजनामा गत मङ्सिर ३ गते गाउँपालिका सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रमका क्रममा तयार गरिएको ज्ञापनपत्र मंगलबार हस्तान्तरण गरिएको हो । सुन्दरशील टोल विकास संस्थाका अध्यक्ष दुर्गालाल गुरुङले गाउँपालिका उपाध्यक्ष भुवनसिं गुरुङ र प्रमुख प्रशासकीय अधिकृत प्रधुम्नकुमार खड्कासमक्ष ज्ञापनपत्र बुझाएका थिए ।

कार्यक्रममा वडा नं. ५ भित्रका २१ वटै टोल विकास संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले टोलस्तरमा देखिएका समस्या, विकास निर्माणका आवश्यकता, सेवा प्रवाह तथा स्थानीय सरकारसँगको समन्वय र सहकार्यका विषयमा विस्तृत छलफल गरेका थिए ।

ज्ञापनपत्रमा सडक तथा बाटोघाटोको सुधार र निर्माण, खानेपानी व्यवस्थापन, सडकबत्ती जडान, सार्वजनिक स्थल तथा खुला क्षेत्रको संरक्षण, फोहोरमैला व्यवस्थापन र धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणलगायतका विषयलाई प्राथमिकताका साथ उठाइएको छ । त्यसैगरी स्थानीय पहिचानको संरक्षण, पर्यटन प्रवद्र्धन, टोलस्तरीय विकासका आवश्यकता तथा योजना कार्यान्वयनमा टोल विकास संस्थाको प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्ने मागसमेत समेटिएको छ । अन्तरक्रियाका क्रममा प्रस्तुत १५ बुँदे मागमाथि छलफल गर्दै स्थानीय समस्या पहिचान गरी प्राथमिकताका आधारमा समाधान खोज्ने, विकास निर्माणका कामलाई प्रभावकारी बनाउने तथा गाउँपालिकासँग निरन्तर समन्वय र सहकार्य गर्ने विषयमा साझा धारणा बनाइएको थियो ।

सहभागीहरूले टोल विकास संस्थालाई स्थानीय सरकार र नागरिकबीचको बलियो पुलका रूपमा स्थापित गर्दै विकास योजना निर्माण तथा कार्यान्वयनमा प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका सहजकर्ता केशवचन्द्र न्यौपानेले सहजीकरण गर्दै टोल विकास संस्थाहरूबीचको एकता, समन्वय र साझा पहलले स्थानीय विकासलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

ज्ञापनपत्र बुझ्दै गाउँपालिका उपाध्यक्ष भुवनसिं गुरुङले गाउँपालिकाभित्र भइरहेका विकास निर्माणका कामको नियमित अनुगमन तथा सबै वडासँग समन्वय भइरहेको जानकारी दिए । उनले विकास निर्माणका कामलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन अनुगमनलाई सूक्ष्म बनाइने बताउँदै आगामी दिनमा टोल विकास संस्थाहरूसँगको समन्वय र सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत प्रधुम्नकुमार खड्काले टोल विकास संस्थाहरूबाट प्राप्त माग तथा सुझावलाई सकारात्मक रूपमा लिएको बताउँदै आवश्यकताका आधारमा सम्बोधन गर्न पहल गरिने स्पष्ट पारे । उनले गाउँपालिकाका कामकारबाहीलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरोकारवाला सबै पक्षसँग समन्वय र सहकार्य गरेर अगाडि बढिने बताए ।

कार्यक्रमले टोल विकास संस्थाहरूलाई संगठित गर्दै साझा समस्या तथा आवश्यकतालाई गाउँपालिकासमक्ष निरन्तर पु¥याउने, विकास निर्माणका काममा सहकार्य गर्ने र माग सम्बोधनका लागि निरन्तर समन्वय तथा खबरदारी गर्ने निष्कर्ष निकालेको आयोजक संस्थाका अध्यक्ष दुर्गालाल गुरुङले जानकारी दिए ।

२१ वटा टोल विकास संस्थाको साझा पहलमा बुझाइएको १५ बुँदे ज्ञापनपत्रले देवघाट गाउँपालिका वडा नं. ५ का स्थानीय आवश्यकता र विकासका सवालमा गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । गाउँपालिका नेतृत्वले माग सम्बोधनका लागि सकारात्मक प्रतिबद्धता जनाएपछि स्थानीयवासीले उठाएका विषय क्रमशः कार्यान्वयन हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दल बदल्नेहरु प्रति एमाले नेतृ न्यौपानेको कटाक्षः ‘दल फेर्ने प्रवृत्ति अवसरवाद मात्रै हो’

तनहुँ । मंसिर २ नेकपा (एमाले) की केन्द्रीय सदस्य भगवती न्यौपानेले पछिल्लो समय राजनीतिक दल

व्यासको बेनीकोटमा ‘उद्यमशीलतायुक्त सांस्कृतिक गाउँ’ परियोजना सुरु, डेढ करोड बजेट विनियोजन

तनहुँ । मंसिर २ गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त साझेदारीमा व्यास नगरपालिका–१३ स्थित