तनहुँ । मंसिर ८
घुमाउने पुल निर्माणलाई तीव्रता दिन तथा बुद्धसिंह मार्गअन्तर्गतका विभिन्न खोलामा मोटरेबल पुल निर्माणको माग गर्दै बृहत् जनश्रमदान अभियान सुरु गरिने भएको छ । पुल निर्माण संघर्ष समितिका संयोजक सिद्ध बहादुर थापा (सिद्धान्त) ले घुमाउने पुल तथा बुद्धसिंह मार्गका खोलाहरूमा पुल नबन्दा बन्दीपुर, देवघाट र आँबुखैरेनी क्षेत्रका बासिन्दाले दैनिक आवातजावतमा भोग्दै आएको कठिनाइ अझै उस्तै रहेको भन्दै संघर्ष र जनश्रमदानको अपिल गरेका हुन् ।
संयोजक थापाका अनुसार विशेषगरी साउन र भदौको वर्षायाममा यस क्षेत्रका सर्वसाधारणले ठूलो सास्ती र जोखिम व्यहोर्नुपरेको छ । संघर्ष, ध्यानाकर्षण र दबाबकै परिणामस्वरूप निर्माणाधीन घुमाउने पुलको काम अघि बढाउन अर्थ मन्त्रालयबाट आंशिक बजेट विनियोजन भएको उल्लेख गर्दै उनले अब छिटोभन्दा छिटो निर्माण सम्पन्न गरी नागरिकले सुविधा पाउनुपर्नेमा जोड दिएका छन् ।
बुद्धसिंह मार्गअन्तर्गतका भूतखोला, सुढेखोला, बगरखोला, खानीखोला र ढाँडखोलामा काठेपुल निर्माण गर्ने बृहत् श्रमदानमार्फत ती खोलामा तत्काल मोटरेबल पुल निर्माण र घुमाउने पुलको कामलाई गति दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । थापाले आक्रोश र दबाबलाई भावुकतापूर्ण ढङ्गले मात्र नबुझ्नसमेत चेतावनी दिएका छन् ।
जागरण अभियान सुरु भइसकेको जनाउँदै आगामी मङ्सिर १३ गते आइतबार बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको सिमानामा पर्ने भूतखोलामा काठेपुल निर्माण गरी बृहत् जनश्रमदान अभियान थालनी गरिने जानकारी दिइएको छ ।
उक्त अभियानमा भौतिक रूपमा उपस्थित भई साथ दिन बन्दीपुर, देवघाट र आँबुखैरेनी क्षेत्रका सामाजिक अभियन्ता, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिकर्मी, सरोकारवाला सबैलाई संयोजक थापाले अनुरोध गरेका छन् ।












