देवघाट । मंसिर ८
नवलपुरको गैंडाकोट नपा–३ हर्दी देवघाट निवासी ब्लड क्यान्सर पीडित २५ बर्षीया सारा जर्घा मगरको जिवन बचाउन देवघाटका युवाहरुले सन्चालन गरेको ‘सारा जर्घा मगर बचाउ अभियान’ अन्तर्गत देवघाट गाउँपालिकाका विभिन्न स्थानमा देउसी भैलो कार्यक्रममार्फत ४ लाख ४९ हजार ४०२ संकलन भएको छ । देउसी भैलो कार्यक्रम अभियानको १२ दिनको अवधिमा ८९ हजार ४४२ खर्च कटाई ३ लाख ५९ हजार ९६० बचत गर्न सफल भएको ‘सारा जर्घा मगर बचाउ अभियान’ का अभियन्ता विष्णु पाण्डे (सफल शर्मा) ले जानकारी दिएका छन् ।
अभियानमा निरन्तर खटिने देउसी भैलो टिमका सम्पूर्ण साथीभाइ तथा दिदीबहिनीहरूप्रति आभार व्यक्त गर्दै पाण्डेले संकलित रकमलाई केवल आर्थिक आँकडा मात्र नभई एकता, सहकार्य, मानवता र सारा नानीप्रतिको मायाको प्रतीक भएको बताएका छन् ।
उनले व्यस्त समय व्यवस्थापन गर्दै जीवन बचाउने अभियानमा साथ दिने सबैलाई धन्यवाद तथा बधाई ज्ञापन गरेका छन् । अभियान अझै जारी रहेको जनाउँदै पाण्डेले देवघाटमा सन्चालन भईरहेको देवघाट महा–महोत्सव स्थलमा समेत थप सहयोगमूलक कार्यक्रम सञ्चालन गरिने बताए । सबैको सामूहिक प्रयासबाट थप रकम जुटाउन सके साराको उपचारमा अझ ठुलो टेवा पुग्ने विश्वास अभियान टिमले व्यक्त गरेको छ ।
हर्दीका लोकबहादुर जर्घा मगरकी २५ वर्षीया छोरी सारा जर्घा मगर विगत केही महिनादेखि ब्लड क्यान्सर (रक्त क्यान्सर) जस्तो गम्भीर र प्राणघातक रोगसँग लडिरहेकी छन् । सारको हाल भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उनको उपचार भइरहेको छ ।
चिकित्सकहरूका अनुसार क्यान्सरलाई पूर्ण रूपमा निको पार्न करिब रु.८० लाख खर्च हुनेछ । कमजोर आर्थिक अवस्थाका कारण यति ठूलो रकम जुटाउन लोकबहादुरको परिवारलाई असम्भव भएपछि परिवारले देश–विदेशमा रहनुभएका सम्पूर्ण दयालु मनहरू, समाजसेवी तथा सहयोगी हातहरूसँग जीवन रक्षाका लागि आर्थिक सहयोगको अपिल गरेको छ ।












