अलपत्र घुमाउने पुल निर्माण तत्काल अघि बढाउन स्थानीयको दबाब

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १०

आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुल निर्माण तत्काल अघि बढाउन स्थानीय बासिन्दाले दबाब बढाएका छन् । १२ वर्षअघि निर्माण सुरु भएर अलपत्र परेको उक्त पुलमा देखिएका अवरोधहरू हटाई काम सुरु गर्न स्थानीयले सम्बद्ध निकायसमक्ष आग्रह गरेका हुन् ।

पुल निर्माणको पछिल्लो अवस्था र प्रगतिबारे जानकारी लिन स्थानीय अगुवा सिद्धान्त थापा मगरले सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठ र इन्जिनियर राजेन्द्र रेग्मीसँग छलफल गरेका छन् । छलफलका क्रममा कार्यालय प्रमुख श्रेष्ठले पुरानै स्थानमा वा नयाँ स्थानबाट पुल निर्माण गर्ने भन्ने विषयमा अध्ययन भइरहेको जानकारी दिए । उनका अनुसार यसका लागि चालु आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ बजेटसमेत विनियोजन भइसकेको छ ।

निर्माण व्यवसायीको चरम लापरबाहीका कारण सडक डिभिजन कार्यालयले यसअघि नै उक्त पुलको ठेक्का तोडिसकेको छ । तोकिएको अवधि र पटक–पटक थपिएको म्यादमा पनि काम सम्पन्न नगरेको तथा ताकेता गर्दा समेत निर्माण व्यवसायीले चासो नदेखाएपछि कार्यालयले गत वैशाखमा ठेक्का रद्द गरेको हो ।

गण्डकी प्रदेशको राजधानी पोखरा र चितवनलाई सहज रूपमा जोड्ने उद्देश्यका साथ विसं २०७० असारमा मृत सञ्जीवनी निर्माण कम्पनी (हेटौँडा) सँग पुल निर्माणको सम्झौता भएको थियो । पटक–पटकको म्याद थप र डिजाइन परिवर्तनपछि विसं २०७५ माघमा पुनः सम्झौता भई २०७८ चैतभित्र पुल निर्माण सकिनुपर्ने थियो । तर, १२ वर्ष बितिसक्दा पनि नदीको दुवै किनारमा पिल्लर ठड्याउने बाहेक जम्मा ३६ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

पुल समयमै नबन्दा यस भेगका नागरिकले लामो समयदेखि सास्ती खेप्दै आएका छन् । छिटो पुल निर्माणको माग गर्दै स्थानीयले यसअघि पनि पटक–पटक मन्त्री, सांसद तथा सडक डिभिजन कार्यालयमा ध्यानाकर्षण र घेराउसमेत गर्दै आएका छन् ।

तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिका–१ निर्मलनगरबाट सुरु हुने बुद्धसिं मोटरमार्ग सेती र मादी नदीको किनार हुँदै व्यास–१३, १४, बन्दीपुर–६ र आँबुखैरेनी–५ भएर घुमाउनेघाट पुग्छ । यो पुल निर्माण सम्पन्न भएमा उक्त मार्ग सीधै मुग्लिन–नारायणगढ सडकखण्डमा जोडिनेछ, जसले यात्रुहरूलाई पोखरा र चितवन आउजाउ गर्न निकै छोटो र सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कांग्रेसको केन्द्रीय समिति बैठकमा पन्थले उठाए संगठन सुदृढीकरणदेखि सुशासन र समावेशितासम्मका विषय

तनहुँ । मंसिर ९ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा संगठन

अवैध रूपमा ग्राभेल ओसारपसार गर्ने दुई टिपर नियन्त्रणमा, ४० हजार जरिवाना

तनहुँ । मंसिर ९ तनहुँको भिमाद नगरपालिकाबाट अवैध रूपमा प्राकृतिक स्रोतसाधन (ग्राभेल) ओसारपसार गरिरहेका दुईवटा

देवघाट गाउँपालिकाका नौ माविमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

देवघाट । मंसिर ९ देवघाट गाउँपालिका अन्तर्गतका नौवटा सामुदायिक माध्यमिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त