देवघाट क्षेत्र विकास समिति र स्थानीय तहसँग छैन समन्वय
देवघाट । मंसिर १०
हिन्दुहरुको धार्मिक आस्थासँग जोडिएको देवघाटधाम केही व्यक्तिहरुको लागि भने चन्दा संकलन गर्ने स्थल बनेको छ । महायज्ञको नाममा बर्षै पच्छिे महिनौंको कार्यक्रम आयोजना गर्ने अनि विभिन्न नाममा करोडौं चन्दा संकलन गर्ने धन्दा देवघाटमा विकास भईरहेको छ ।

यसै शिलशिलामा माता पिता सेवा आश्रमको नाममा आफुलाई इश्वरकृष्ण महाराज बताउने इश्वरकृष्ण भुर्तेलले गत मंसिर ५ गतेदेखी देवघाट गाउँपालिका–५ मा देवघाट महामहोत्सव नामको कार्यक्रम आयोजना गरेका छन् । देवघाट गाउँपालिका, वडा कार्यालय तथा स्थानीय टोल विकास संस्थाहरुसँग खासै समन्वय नगरिकन उनले १६ दिन लामो महायज्ञको कार्यक्रम आयोजना गरेका छन् ।

त्रिशुलीको किनारमा ठुलो त्रिशुल बनाउने भन्दै उनले यस महायज्ञमा तामाका पुराना भाडाँकुँडा जम्मा गरेका छन् । साथै देवघाट दिव्यधाम निर्माण गर्ने भन्दै भुर्तेलले चन्दा संकलन समेत गरिरहेका छन् ।
भुर्तेलले २०८१ माघ १ देखि ३० गतेसम्म ‘देवघाट महा–महोत्सव’ आयोजना गरी २५ करोड रुपैयाँ सङ्कलन गरेका थिए । उक्त रकम मध्ये १२ करोड रकम माता पिता सेवा आश्रमको भवन बनाउन खर्च भएको उनले दाबी गरेका छन् । बाँकी रकम खै भन्ने प्रश्न उठेको भन्दै उनले बाँकी रकम आफ्नै संस्थाको खातामा जम्मा गरेर राखिएको बताएका छन् ।

अहिले फेरी देवघाट महा–महोत्सव सन्चालन गरि उनले व्यापक चन्दा संकलन गरेका छन् । अघिल्लो पटक उठेको रकम संस्थाको खातामा जम्मा गरेर फेरी २ साता भन्दा बढि अवधीको कार्यक्रम आयोजना गरेको भन्दै देवघाटमा केही संस्थाहरुले असन्तुष्टि जनाएका छन् । उक्त धार्मिक महोत्सवमा देश तथा बिदेशबाट आउने प्रख्यात भागवत कथा वाचकहरुले भागवत कथा वाचन गरिरहेका छन् । उक्त कार्यक्रममा दैनिक हजारौं भक्तजन उपस्थित भई तामाको भाँडा र रकम दान दिईरहेका छन् । तर संकलित रकमको पारदर्शितामा भने प्रश्न उठेको छ ।

महा महोत्सवमा आउने भक्तालुहरुले ल्याएका सवारी साधन देवघाट क्षेत्रमा जथाभावी पार्किङ गरिँदा उक्त क्षेत्र अस्तव्यस्त र दुर्गन्धित समेत हुन थालेको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् । स्थानीय टोलविकास संस्थाहरुसँग कुनै समन्वय नै नगरिकन यति लामो कार्यक्रम आयोजना गरिएको भन्दै स्थानीय बासिन्दाहरुले गुनासो गरेका हुन् ।

उक्त कार्यक्रमको बारेमा देवघाट क्षेत्र विकास समितिसँग पनि समन्वय र सहकार्य नभएको बझिएको छ । सोही कारण देवघाट क्षेत्र विकास समितिले पनि यस्ता धार्मिक कार्यक्रम आयोजना गर्दा समितिसँग सहकार्य र समन्वय गर्नुपर्ने जनाएको छ ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक पुकार भट्टले देवघाट क्षेत्रको धार्मिक आस्था, विश्वास, परम्परा तथा सांस्कृतिक मर्यादालाई कायम राख्दै धार्मिक कार्यक्रम सञ्चालन गर्न सम्पूर्ण श्रद्धालु भक्तजन, संघसंस्था तथा आयोजकहरूमा अनुरोध गरेका छन् । ‘देवघाट क्षेत्र विकास समितिसँग आवश्यक समन्वय र सहकार्य गरी धार्मिक कार्यक्रम सञ्चालन गरिदिनुहुन अनुरोध छ’ भट्टले भनेका छन् ‘धार्मिक आस्थाको सम्मान गरौँ, देवघाटको गरिमा र पवित्रता कायम राखौँ ।’












