२० साउन, देवघाट
देवघाट क्षेत्रको दिगो विकासकोलागि छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकी जनसम्पर्क सल्लाहकार एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य सीता पौडेलसँग देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिले यस क्षेत्रको दिगो विकासको बारेमा छलफल गरेको हो ।

मंगलबार देवघाट क्षेत्रको अवलोकनमा आएकी सल्लाहकार पौडेलले देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिले आयोजना गरेको छलफल तथा सम्मान कार्यक्रममा बोल्दै देवघाटको विकासमा सरकारको तर्फबाट सहयोग हुने र त्यसकोलागि आफुले सक्दो सहयोग गर्ने बताईन् ।




देवघाट देशकै प्रमुख धार्मिक गन्तव्य रहेको हुँदा यस क्षेत्रको विकासकोलागि सरकारको तर्फबाट सक्दो सहयोग हुने उनको भनाई थियो ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले देवघाट नेपालकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र भएको हुँदा यस क्षेत्रको विकासकोलागि संघीय सरकारले नै विशेष पहल गर्नु पर्ने बताए ।

यस क्षेत्रको भौतिक तथा सांस्कृतिक विकासकोलागि सरकारको पहल आवश्यक भएको अध्यक्ष थापाको भनाई थियो ।

यसैगरि देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले देवघाट क्षेत्र विकास समितिको बजेट तथा कार्यक्रममा बृद्धी गर्न जनसम्पर्क सल्लाहाकार मार्फत सरकारलाई अनुरोध गरे ।

यस क्षेत्रको धार्मिक विकासकोलागि तिन वटै तहको सरकारको समन्वय हुनु आवश्यक रहेको अध्यक्ष पौडेलले बताए ।

सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर महानगर कमिटिका अध्यक्ष रामप्रसाद न्यौपाने, नेकपा देवघाट गाउँ कमिटिका अध्यक्ष भुवनसिंह गुरुङ, देवघाट क्षेत्र विकास समितिका पदाधिकारी, नेकपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।












