२ भदौ, पोखरा
पोखरामा मृत्यु भएकी व्यास नपा १ की ५० वर्षीया महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । महिलाको मृत्यु पश्चात कोरोना पुष्टि भएको हो । उनको पोखरा १२ हस्पिटलचोक स्थित कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार भईरहेको थियो ।




उनको हिजो सोमबार राति ११ बजेर ३६ मिनेटमा अस्पतालमै उपचारको क्रममा मृत्यु भएको थियो । श्रोतका अनुसार उनलाई निमोनिया भएपछि अस्पतालमा ल्याइएको थियो । उनी साउन ३२ देखि उपचाररत थिईन् । महिलामा मधुमेहसँगै मुटुरोगको समस्या रहेको पनि श्रोतले जनाएको छ ।

मृत्यु पछि स्वाव परिक्षण गर्दा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो । गन्डकी स्वास्थ्य निर्देशनालयले मृत्युबारे पुष्टि गरिसकेको छ । स्वास्थ्य निर्देशनालय गन्डकीका दिर्नेशक डा. विनोद बिन्दु शर्माले विज्ञप्ति प्रकाशित गरि उनको मृत्युको पुष्टि गरेका छन् । मृतकको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।













