कोरोना संक्रमितको उपचार गर्न नौ हजार शय्या

Devghat Online

शेयर गरौ

१३ भदौ, काठमाडौं
काठमाडौँ उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शय्या तयार गर्ने भएको छ । तीमध्ये अधिकांश शय्या आइसोलेसनका लागि तयार भइसकेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती शय्यामध्ये लक्षण भएका सङ्क्रमितको उपचार गर्न दुई हजार र बाँकी सात हजार लक्षण नभएका सङ्क्रमितलाई आइसोलेट गर्न तयार गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कोभिड–१९ इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)का प्रमुख डा.गुणराज लोहनीले मन्त्रालयले सरकारी, निजी अस्पताल तथा अन्य भवन प्रयोग गरी आइसोलेसन सेन्टर तथा उपचारस्थल तयार पारेको जानकारी दिए । उनले नौ हजारमध्ये झन्डै ७० प्रतिशत शय्या प्राप्त भइसकेको भन्दै बाँकी शय्या थप्न आवश्यक अनुमगन तथा तयारी भइरहेको जानकारी दिए ।

उनले आइसोलेसनका लागि डेढ अर्ब रुपियाँ बजेट छुट्ट्याइएको जानकारी दिए । उक्त रकम भवनको भाडाबाहेक हो । यो सरकारको नीतिअनुसार काम भएको डा. लोहनीले बताए । लक्षण नभएका सङ्क्रमित राख्न अहिले नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र खरीपाटीमा दुई सय शय्या तयारी अवस्थामा रहेको र उक्त केन्द्र तीन सय शय्या सम्मको बनाउने योजना रहेको लोहनीले बताए ।

यस्तै कीर्तिपुरस्थित आयुर्वेद केन्द्रमा २२०, दहचोकस्थित मनमोहन मेडिकल कलेजको भवनमा ३२० शय्या तयारी अवस्थामा छ । यस्तै इचङ्गुुनारायणमा रहेको आपत्कालीन भवनमा ५०० शय्या, यती अस्पतालमा ५० शय्या तयारी अवस्थामा छ । मन्त्रालयले जाउलाखेलमा रहेको स्टाफ कलेजमा सय, बालाजुस्थित जनमैत्री अस्पतालमा तीन सय, वसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा सय र कान्तिपुर अस्पताल तीनकुनेमा ५० शय्याको आइसोलेसन तयार गरी लक्षण नभएका सङ्क्रमितलाई राख्ने तयारी गरेको छ ।

यस्तै लक्षण भएका कोरोना सङ्क्रमितलाई अहिले शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा राखिएको छ ।

यस्तै अन्य उपचारका लागि गएका तर पीसीआर गर्दा सङ्क्रमित भएका व्यक्तिलाई सम्बन्धित अस्पतालमै आइसोलेसन वार्डमा राखी उपचार गरिएको छ । यी अस्पतालमा कान्ति बाल अस्पताल, वीर, नेपाली सेना, नर्भिक अस्पताललगायत छन् । अब मन्त्रालयले छुट्ट्याउन लागेकामा मेघा अस्पतालमा ५० शय्या, नेपाल मेडिकल कलेजमा सय शय्या, केएमसी दुवाकोटमा एक शय्या, किस्ट मेडिकल कलेजमा सय शय्याबाट कोरोना सङ्क्रमितलाई सेवा दिने गरी सम्झौता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू