असोज २६, दुलेगौडा
कोभिड १९ को जोखिम बढेपछि शुक्लागन्डकी नगरपालिकामा सिकाई केन्द्रहरु बन्द गरिएको छ । नगरपालिकाका केही विद्यालयमा असोज १ गतेदेखी विद्यालयमा बालबालिकाकोलागि सिकाई केन्द्रहरु सन्चालन गरिएपनि काभिडको जोखिम बढेपछि मंगलबारबाट पुनः बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले बताए ।
गत चैत पहिलो साताबाट बन्द भएका विद्यालयमा कोभिडको जोखिम कम हुदै गएको भन्दै असोज १ गते देखी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिकाई केन्द्रहरु सन्चालन गरिएको थियो । विद्यार्थी तथा शिक्षकले अनिवार्य मास्क लगाउनु पर्ने, एउटा बेन्चमा दुई जनासम्म मात्र बालबालिका राख्नुपर्ने तथा विद्यालयमा ज्वरो नाप्ने व्यवस्था, सावुन पानी र सेनीटाईजरको व्यवस्था गरेर असोज १ गतेदेखी केही सामुदायिक तथा संस्थागत विद्यालय सन्चालन गरिएको थियो ।



तर नगरपालिका भित्र समुदायमा कोभिड फैलिईसकेको हुँदा यस्तो जोखिमको समयमा विद्यालयहरु सन्चालन गरिरहँदा बालबालिकाहरु जोखिममा पर्न सक्ने भएकोले अर्काे सुचना नहुँदा सम्म सम्पुर्ण सिकाई केन्द्रहरु बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता कुमालले बताए ।
नगरपालिकाको असोज २६ गते बसेको कार्यपालिकाको बैठकले विद्यालय बाहेक टोल टोलमा सन्चालन गरिएको सिकाई केन्द्रहरु पनि बन्द गरि अनलाईन प्रविधिबाट मात्र पठन पाठन सन्चालन गर्ने निर्णय गरेको प्रवक्ता कुमालले जानकारी दिए ।












