१३ मंसिर, देवघाट
कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणको व्यवस्थापनको कार्यमा देवघाट गाउँपालिका तनहूँका स्थानीय तहहरु मध्ये उत्कृष्ट भएको छ । स्वास्थ्य निर्देशनालय गन्डकीले कोरोना महामारीको व्यवस्थापनमा राम्रो काम गरेका स्थानीय तहहरुको गरेको बर्गिकरणमा देवघाट गाउँपालिका तनहूँका अन्य स्थानीय तहहरु भन्दा उत्कृष्ट ठहर भएको हो ।
स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक÷एक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि विभिन्न कामको आधारमा ११ स्थानीय तह छनोट गरेर सूची तयार पारिएको स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत नगेन्द्र पौडेलले बताए ।



उत्कृष्ट व्यवस्थापन गर्नेमा तनहूँको देवघाट गाउँपालिका सहित पर्वतको जलजला गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका, म्याग्दीको मङ्गला गाउँपालिका, मुस्ताङको घरपझोङ्ग गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, लमजुङको सुन्दरबजार नगरपालिका, मनाङको चामे गाउँपालिका, गोरखाको आरुघाट गाउँपालिका र नवलपुरको देवचुली नगरपालिका रहेका छन् ।
महामारीको समयमा क्वारेन्टाइन व्यवस्थापन, संक्रमितको उपचार तथा उद्धार महामारी रोक्नका लागि गरिएको प्रयास लगायतका सूचकको आधारमा स्थानीय पालिकाहरुको मूल्याङ्कन सदरमुकाममा रहेका स्वास्थ्य कार्यालयहरुले गरेका थिए ।
तनहूँको उत्कृष्ट घोषित देवघाट गाउँपालिकाले सबैभन्दा पहिले आफ्नै क्वारेन्टाईन र आईसोलेसन स्थापना गरेका थिए । त्यसैगरि लक्षण नभएका संक्रमितहरुलाई होम आईसोलेसनमा बस्न पाउने व्यवस्था देवघाटले नै सुरुवात गरेको थियो । त्यसैगरि कोरोना व्यवस्थापन तथा लकडाउनको क्रममा सर्वसाधरण नागरिकलाई वितरण गरिएको राहतको खर्च विवरणको बारमो पनि देवघाटले सबैभन्दा पहिला सार्वजानिक गरेको थियो ।
कोरोना व्यवस्थापनमा आफुहरुले गरेको कार्यलाई प्रदेशले उत्कृष्ट ठहर गरेकोमा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले खुसी व्यक्त गरेका छन् । उनले आफुहरुले गरेको कामको उचित मुल्यांकन भएको बताएका छन् ।












