४ पुस, बन्दिपुर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहूँको आयोजनामा बन्दिपुर गाउँपालिकामा शिक्षाको अधिकार सम्बन्धमा सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रम शुक्रबार वडा नम्बर १ स्थित सिकेविके क्याम्पसमा सम्पन्न भयो ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा सन्चालन गरेको शिक्षा सम्बन्धी कार्यक्रम र गाउँपालिकाको शिक्षाको नीति तथा शैक्षिक अवस्थाको बारेमा सरोकारवालाहरुलाई जानकारी दिने र सुझाव संकलन गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।
सो कार्यक्रममा बोल्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको शिक्षालाई गाउँपालिकाले पनि निकै प्रथामिकतामा राखेको बताए । शिक्षालाई प्राथमिकतामा राखी गुरुयोजना बनाईएको भन्दै अध्यक्ष थापाले मातृभाषाबाट पनि शिक्षा लिन पाउने वातावरण बनाईएको बताए ।




शिक्षाको मुख्य जग प्राथामिक र आधारभुत तहको शिक्षा भएको हुँदा सबै प्रावि तहमा मन्टेश्वरी विधीको शिक्षा तथा धुलो रहित कक्षा कोठा तथा आधारभुत तहमा पुर्ण दरबन्दी तथा सुचना प्रविधिको पढाई सुरु एवं माध्यमिक तहमा सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न आवासिय र बसको व्यवस्थापन सुरु गरिएको अध्यक्ष थापाले बताए । सबै विद्यालयमा स्वच्छ खानेपानी, सफा सौचालय तथा विद्यालयसम्म पुग्ने सडकको स्तरोन्नती पनि सुरु गरिएको अध्यक्ष थापाको भनाई थियो ।

वडा नम्बर १ का अध्यक्ष भानुभक्त पोख्रेलले अहिलेसम्म राज्यको नीतिको कारण शिक्षामा सुधार हुन नसकेको भन्दै अव स्थानीय तहले प्राविधिक शिक्षालाई जोड दिने खालको नीति ल्याउनु पर्ने बताए । व्यवहारिक ज्ञान, नैतिक शिक्षा र मातृ भाषालाई संरक्षण गर्ने खालको नीति ल्याउनु पर्ने भन्दै वडा अध्यक्ष पोख्रेलले त्यसखाले नीति बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताए । गाउँपालिकाले नै आयोजना गर्नु पर्ने यसखाले कार्यक्रम इन्सकले आयोजना गरेकोमा उनले इन्सेकलाई धन्यवाद दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गन्डकी प्रदेश कमिटिकी सदस्य गिता शाहीले गुणस्तरीय र व्यवहारिक शिक्षा अहिलेको सबैभन्दा महत्वपुर्ण आवश्यकता भएको भन्दै राज्य पनि यस प्रति अलि अलि जिम्मेबार बन्न थालेको बताईन् । कार्यपालिका सदस्य सावित्री दुवाडले शिक्षा बिना सबै कुराहरु ओझेलमा पर्ने हुँदा शिक्षालाई नै प्राथमिकतामा राखी योजनाहरु बनाउनु पर्ने बताईन् ।

गाउँपालिकाकी महिला तथा बालबालिका शाखाकी प्रमुख कविता पौडेलले बालमनोविज्ञानलाई आधार मानेर शिक्षण शिकाई क्रियाकलाप गर्नु पर्ने बताईन् । विद्यालयमा दण्ड सजायको अन्त्य गरि बालमैत्री प्रविधिबाट सिकाई हुनु पर्ने पौडेलले बताईन् ।
पवित्रा माविका प्रअ रघुनाथ पण्डितको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सिकेविके क्याम्पसका प्रमुख माधव पण्डित, पवित्रा मावि व्यवस्थापन समितिका सदस्य कुलेन्द्र गौतम, वडा सदस्य अमृत शाही, बाल अधिकार चेतना समुह पवित्रा माविका अध्यक्ष नासिर हुसेन, विष्णु माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण अधिकारी लगायतले शिक्षाको महत्वको बारेमा मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा बन्दिपुर गाउँपालिका शिक्षा शाखाकी प्रा.स सिर्जना अधिकारीले गाउँपालिकाले चालु शैक्षिक सत्रमा सन्चालन गरेको शिक्षा सम्बन्धि नीति, शैक्षिक कार्यक्रम र शिक्षाको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् । सो कार्यक्रमको सहजिकरण इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।












