९ पुस, देवघाट
देवघाट गाउँपालिकाले आधारभुत पत्रकारिता तालिम सन्चालन गर्ने भएको छ । विशेषगरि कृषिको क्षेत्रमा समाचार संकलन र सम्र्पेषण गर्न सहयोग पु¥याउने उद्देश्यले यही पुस ११ र १२ गते वडा नम्बर ३ को छिपिछिपे भन्ज्याङ्गमा कृषि पत्रकारिता आधारभुत तालिम आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले बताए ।
तालिममा आधारभुत पत्रकारिताको ज्ञान, पत्रकार आचार संहिता, नेपालको संविधानका मौलिक हकहरु, कृषि क्षेत्रको समाचार संकलन, ग्रामिण पत्रकारिता लगायतको विषयमा प्रशिक्षण दिईने देवघाट गाउँपालिकाका प्रेस सल्लाहाकार आशिक रानाले बताए । तालिममा नेपाल पत्रकार महासंघ तनहूँका निवर्तमान अध्यक्ष एवं लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराई र पत्रकार महासंघ तनहूँका सदस्य पुर्ण विकेले सहभागीलाई प्रशिक्षण दिने छन् ।



दिगो र व्यवसायीक कृषिलाई देवघाटको समृद्धीको आधार मान्दै आएको देवघाट गाउँपालिकाले व्यवसायीक कृषि प्रबद्र्धनकोलागि विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । गत वर्ष कृषि महोत्सवको आयोजना गरेको गाउँपालिकाले केही दिन अघि वडा नम्बर २ को कोटबैदीमा कृषि प्रर्दशनी र कृषकसँग कृषि मन्त्री विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।












