देवघाट अनलाइन
देवघाट, चैत १९
नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेले जनताले टिप्पर आतंक कहिलेसम्म सहनु पर्ने हो भन्दै प्रश्न गरेका छन् । न्यौपानेले आईतबार बिहान सामाजिक सन्जाल मार्फत देवघाट गाउँपालिकाका जनप्रतिनिधिलाई चारवटा प्रश्न गर्दै नागरिकले टिप्पर आतंक र धुलो, धुवाँ कहिलेसम्म खानु पर्ने हो भन्ने प्रश्न गरेका छन् ।




न्यौपानेले गाउँपालिकाले इजाजत दिएर सन्चालनमा आएका टिप्पर बिहान ४ बजेदेखि राती ९ बजेसम्म दौडाएर देबघाटबासीले टिप्पर आतङ्क सहनुपर्ने भन्दै निश्चित समयको ब्यबस्थापन मिलाउने जिम्मेवारी तपाईहरुको हो की हैन ? भन्ने प्रश्न गरेका छन् । त्यस्तै निर्वाचित जनप्रतिनिधिले आस्थाको आधारमा नियुक्ती भएका कर्मचारीलाई तलबभत्ता खुवाउन ढुङ्गा, गिट्टी र बालुवा बिक्री गरी राजश्व लिइ राख्दा टिप्पर गुड्दा जनताले सधै धुवाँधुलो खाइरनुपर्ने भन्दै टिप्पर दौडदा बाटोमा पानी हाल्ने प्रबन्ध गर्नु पर्दैन र धुलोले कारण नागरिकको स्वास्थ्यप्रति तपाईहरु चिन्तित हुनु पर्दैन ? भनेका छन् ।

न्यौपानेले दासढुङ्गाको पुलको क्षमता कति हो, प्राविधिकहरुसँग परामर्श गर्नु पर्दैन ? उक्त पुलले थेग्नसक्ने भार क्षमता कति हो ?, एकै पटक ६,७ वटा लोड टिप्पर लोड गुडाउँदा पुलको आयु कति वर्ष होला ? आलो–पालो टिप्पर गुडाउने ब्यवस्थापन गर्ने जिम्मा तपाईहरूको क्षेत्र भित्र पर्छ कि पर्दैन ? भन्ने प्रश्न गरेका छन् । यसैगरि माटो ढुङ्गा, गिट्टी र बालुवा बिक्रीको लागि टेन्डर गर्दा आइइइको नाममा प्राविधिक सम्बन्धित फिल्डमा जादा सरोकारवाला टोल विकास, वन समूह, प्रहरी प्रशासन साँध सधियारासँग सहमति गर्नु पर्दैन ?, प्राकृतिक श्रोत उत्खनन गर्दा त्यसले पु¥याउने तत्कालिन र दीर्घकालीन असर बारे तपाईहरूलाई कुनै मतलब हुदैन ? भन्दै यी प्रश्नको उत्तर देवघाटबासीले जान्न चाहेको बताएका छन् ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले कच्चीबाटोमा धुलो उड्ने समस्या देवघाटमा मात्र नभई राष्ट्रिय स्तरकै समस्या भएको बताए । देवघाट अनलाईनसँग कुरा गर्दै अध्यक्ष थापाले राजनीतिक प्रतिशोधको कारण नेकपा एमालेका अध्यक्षले देवघाटका सबै जनप्रतिनिधिलाई यस्तो आरोप लगाएको बताए ।

अहिले ढुङ्ग, गिट्टी र बालुवा उठाउनेसँग सम्झौता भई नसकेको भन्दै अध्यक्ष थापाले सम्झौतामा बाटोको धुलो मार्न सम्बन्धित ठेकेदारले नै दिनको तिनपटक पानी हाल्ने बुँदालाई उल्लेख गरिएको र अव सम्झौता कार्यान्वयनमा आएपनि त्यो बुँदा पनि स्वतः कार्यान्वयनमा आउने बताए । त्यसपछि धुलो उड्यो भनेर कसैले पनि प्रश्न गर्नु नपर्ने थापाले बताए । दासढुङ्गा पुलमा एकैपटकमा धेरै टिप्पर गुडाउने गरेको बारेमा इलाका प्रहरी कार्यालय देवघाटसँग समन्वय गरि आलोपालो गराउन सकिने र पुलको बिच भागमा बनेको खाल्डो गाउँपालिकाले नै पुर्ने बताए ।













