दमौली, बैशाख १२
नेपाली काँग्रेसले बैशाख १० मा सम्पन्न तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनमा पार्टीको पक्षमा मतदान गर्ने सम्पुर्ण मतदातालाई धन्यवाद दिएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर १ कार्य समितिले मंगलबार विज्ञप्ति प्रकाशन गरि मतदातालाई धन्यवाद दिएको हो ।
लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईलाई मतदान गर्ने सम्पूर्ण मतदाता एवं गठबन्धनका नेता तथा कार्यकर्तामा काँग्रेसले धन्यवाद दिएको हो ।
‘निर्वाचनमा कांग्रेस लगायत गठबन्धनले अपेक्षा गरे अनुसारको मत परिणाम प्राप्त गर्न सकेको छैन । नेपालको लोकतान्त्रिक आन्दोलनमा विगत ७०÷७५ वर्षदेखिको निरन्तर क्रियाशील हजारौं पार्टी सदस्यहरु भएको कांग्रेस तनहुँले समय–समयमा भएका निर्वाचनमा सफलता असफलता भोग्दै आएको छ’ क्षेत्रीय सभापति श्यामकुमार मौरतीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
‘सफलता वा असफलता भोगे पनि लोकतन्त्र र संविधानको रक्षा गरी जिल्लाको विकास अभियानमा कांग्रेस निरन्तर प्रतिबद्ध भएर लागिरहेको छ । यस निर्वाचनमा देखिएका विभिन्न पक्षको उचित समयमा गम्भिर समिक्षा गरिने नै छ,’ विज्ञप्तीमा भनिएको छ ‘निर्वाचनमा हार जीत लोकतन्त्रको मान्यता रहेको यहाँ स्मरण गर्दै निर्वाचन परिणामले निरास नहुन लोकतन्त्रवादी सम्पूर्ण मतदाताहरुमा हार्दिक अपिल गर्दछौं ।’