तनहुँ–१ मा भट्टराईले काँग्रेसको मात्रै मत पाएका हुन् ?

Devghat Online

शेयर गरौ

माओवादी नेता भन्छन्– भट्टराईले पाएको मतमा ६ हजार माओवादीको

दमौली, बैशाख १३

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको नतिजा सार्वजनिक भएको केही समयपछि नेकपा माओवादी केन्द्रका नेता तथा गन्डकी प्रदेश सभाका संसदीय दलका नेता हरिबहादुर चुमानले फेसबुक पेजमा एउटा स्टाटस लेखे । चुमानको स्टाटसको आशय थियो ‘माओवादीले काँग्रेसको उम्मेदबारलाई मत हालेको तर काँग्रेसका कार्यकर्ताले नै आफ्नो उम्मेदबारलाई मत हालेनछन ।’

माओवादीको राम्रो प्रभाव रहेको चुमानको घर भएको आवुँखैरेनीको वडा नम्बर २ मा काँग्रेसका उम्मेदबार भट्टराईले ३३६ मत मात्रै पाए । १३३९ मत खसेको उक्त वडामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार स्वर्णिम वाग्लेले ८८१ मत पाएका थिए । आवुँखैरेनीको मतगणना सकिनासाथ काँग्रेसका केही कार्यकर्ताले सामाजिक सन्जालमा ‘मुख्यमन्त्रीका दावेदार हरिबहादुर चुमानको वडामा गठबन्धनलाई ३३६ मात्रै मत’ भनेर स्टाटसहरु लेख्न थालेका थिए । काँग्रेस कार्यकर्ताको त्यही स्टाटसको जवाफ दिन माओवादीका नेता चुमानले पनि स्टाटस लेखेको अनुमान गरिएको छ । तर चुमानले केही समयमै आफ्नो स्टाटस हटाए ।

गत मंसिरमा भएको निर्वाचनमा गठबन्धनबाट उम्मेदबार बनेका रामचन्द्र पौडेलले २५३६१ मत पाएका थिए । तर यस पटक गठबन्धनका साझा उम्मेदबार गोविन्द भट्टराईले २०१२२ मत मात्रै पाए । ५ महिनाको अवधिमा गठबन्धनको ५२३९ मत कता हरायो ? यो प्रश्न गठबन्धनका नेताहरुले एक अर्का लाई गर्न थालेका छन् ।

डुम्रेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

चुनावी परिणामपछि गठबन्धनको मुख्य दल नेपाली काँग्रेसका नेताहरुले यो उपनिर्वाचनमा नेपाली काँग्रेसको उम्मेदबार विरुद्ध महागठबन्धन बनेको बताएका छन् । उनीहरुको आशय छ, व्यवहारमा सत्ता गठबन्धनमा रहे पनि माओवादी र नेकपा एसका कार्यकर्ताले पनि रास्वपाका उम्मेदबारलाई भोट हाले । गोविन्द भट्टराईले पाएको २०१२२ मत सबै काँग्रेसको मात्रै भएको भन्दै काँग्रेसको संगठनलाई केही असर नगरेको काँग्रेसका कार्यकर्ताहरुले दावी गरेका छन् । घन्टीको उम्मेदबारले चुनाव जितेपनि काँग्रेसको मत सुरक्षित रहेको भन्दै काँग्रेस कार्यकर्ताहरु अझै मख्ख परिरहेका छन् ।

तर गठबन्धनको मुख्य दल नेकपा माओवादीका नेताहरुले काँँग्रेसको यो दावीलाई मान्न तयार छैनन् । माओवादी केन्द्रका तनहुँ जिल्ला संयोजक मदन आलेले गोविन्द भट्टराईले पाएको मतमा ६ हजार भन्दा बढि मत माओवादीका कार्यकर्ताको रहेको दावी गरे । ‘बरु काँग्रेसका कार्यकर्ताले भट्टराईलाई मत हालेनछन्’ आलेले भने ‘माओवादीले इमानदारी पुर्वक ६ हजार भन्दा बढि मत रुख चिन्हमा हालेको छ ।’ काँग्रेसका नेताहरुको हेपाहा प्रबृत्ति भएपनि गठबन्धन जोगाउनु पर्छ भन्ने पार्टी केन्द्रको गम्भिर निर्देशन पछि तनहुँ–१ का सबै माओवादी कार्यकर्ताले इमानदारीपुर्वक रुखमा मतदान गरेको आलेले बताए ।

एमालेले विगतमा आफुले पाएको मत जोगाएको भए र काँग्रेसकै जोशी समुहलाई व्यवस्थापन गर्न सकेको भए गठबन्धनको उम्मेदबारको जित हुने आलेको विश्लेषण छ । तर अहिले आएर चुनाव हारेको दोष माओवादीलाई दिनु निरर्थक हुने आलेको भनाई छ । आवुँखैरेनीको वडा नम्बर २ मा प्राप्त भएको मत पनि माओवादीकै कार्यकर्ताको रहेको आलेले बताए ।

चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र तनहुँका संयोजक मदन आले

काँग्रेसले आफ्नै मत जोगाउन नसकेको दोष अहिले माओवादीलाई लगाउन नहुने आलेको भनाई छ । चुनावी प्रचारको क्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डुम्रेमा आयोजित सभामा भट्टराईलाई जिताउनु पर्ने पार्टीका कार्यकर्तालाई निर्देशन दिएपछि सबै माओवादीका कार्यकर्ता इमानदारीपुर्वक भट्टराईलाई जिताउन लागिपरेको आलेले बताए ।

नेकपा एसको दाबीः हामीले २ हजार मत दिएका छौं

चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एसका नेता तथा पुर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसान

यसैगरि सत्ता गठबन्धनको अर्काे दल नेकपा एकिकृत समाजबादीले पनि भट्टराईलाई मत दिएको उक्त दलका एक नेताले बताए । नेकपा एसका प्रभावशाली नेता तथा पुर्व मन्त्री कृष्णकुमार श्रेष्ठ किसान करिब एक साता तनहुँमा बसेर भट्टराईको पक्षमा माहौल बनाएका थिए । श्रेष्ठको कारण समाजबादीको तथा अन्य स्वतन्त्र गरि करिब २ हजार मत भट्टराईको पक्षमा आएको श्रेष्ठ निकट एक कार्यकर्ताले बताए ।

त्यसमाथी नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले समेत डुम्रे आएर भट्टराईको पक्षमा मत मागेका थिए । त्यस्तै नेपाल समाजबादी पार्टीका अध्यक्ष पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले समेत डुम्रेको सभामा उपस्थित भएर भट्टराईको पक्षमा मत मागेका थिए ।

एक हजार मत दिलाएको जसपाको दावी

त्यसैगरि जनता समाजबादी पार्टीले पनि घोषित रुपमै काँग्रेसका उम्मेदबारको पक्षमा मत मागेको थियो । जनता समाजबादी पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य तथा पुर्व मन्त्री शिवलाल थापा भट्टराईलाई जिताउन निकै सक्रियतापुर्वक लागेका थिए । तनहुँका मगर समुदायमा राम्रो प्रभाव रहेका थापाको कारण करिब १ हजार मत भट्टराईलाई थपिएको उक्त पार्टीका एक नेताले बताए ।

चुनावी सभालाई सम्बोधन गर्दै नेपाल समाजदबाी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई

यसरी गठबन्धनका दलहरु मध्ये माओवादी केन्द्रको ६ हजार, नेकपा एसको २ हजार र जसपाको १ हजार मत थपिएको कारण काँग्रेसका उम्मेदबार गोविन्द भट्टराईले २०१२२ मत प्राप्त गरेको विश्लेषण गर्न सकिन्छ । गठबन्धनका अन्य दलहरुको यो ९ हजार मत घटाउने हो भने काँग्रेस कार्यकर्ताको करिब ११ हजार मत मात्रै भट्टराईलाई आएको देखिन्छ ।

यसर्थ काँग्रेस अहिले भट्टराईले ल्याएको मतलाई हेरेर आफ्नो संगठनलाई केही क्षती नभएको दाबी गर्नु ‘मनको लड्डु घ्यु सित खानु’ जस्तै भएको गठबन्धनका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने